काठमाडौं – न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटकाे १३ वर्षपछी फाइनलमा पुगेकाे छ । आज बुधवार सिड्नीमा भएकाे खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायाे ।
न्युजिल्यान्डले दिएकाे एक सय ५३ रनकाे लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायाे । पाकिस्तानका लागि माेहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र माेहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बाेल्टले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनायाे । उसका लागि ड्यारी मिचेलले ५३ र केन विलियमसनले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले दुई विकेट लिए ।
टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । यी दुई टिमबीच अहिलेसम्म चार वटा सेमिफाइनल खेलमा भेट भएकाेमा चारै पटक पाकिस्तानले जितेकाे छ ।
पाकिस्तानकाे टिम सन् २००९ पछि पहिलाे पटक टी–२० विश्व कपकाे फाइनलमा पुगेकाे हाे । पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई आठ विकेटले हराउँदै दाेस्राे संस्करण (२००९) काे उपाधि जितेकाे थियाे ।
यसैबीच दाेस्राे सेमिफाइनलमा भाेलि बिहीवार भारत र इङ्ग्ल्यान्डबीच खेल्दै छन् । फाइनल खेल आउँदाे आइतवार पाैने २ बजे सुरु हुनेछ ।