काठमाडौँ - क्यानडाले आगामी वर्ष हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ। अमेरिका क्षेत्रिय छनोट अन्तर्गत बहामासलाई सानदार रूपमा पराजित गर्दै क्यानडाले विश्वकप यात्रा पक्का गरेको हो।
खेलमा पहिले बलिङ गरेको क्यानडाले बहामासलाई जम्मा ५७ रनमा अलआउट गर्यो। उसका लागि कलिम साना र शिवम शर्माले घातक बलिङ गर्दै समान ३-३ विकेट लिए।
५८ रनको सामान्य लक्ष्य क्यानडाले मात्र ५.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। टोलीका लागि दिलप्रीत बाजवाले १४ बलमा अविजित ३६ रनको विष्फोटक ब्याटिङ गर्दै टोलीलाई विश्वकपमा पुर्याए।
निकोलस किर्टनको कप्तानीमा रहेको क्यानडाले अमेरिका क्षेत्रिय छनोटमा बर्मुडा, केम्यान आइल्याण्ड्स र बहामासमाथि सहज जित निकालेको थियो। आयोजक र अघिल्लो विश्वकपको सुपर ८ मा पुगेका कारण अमेरिका स्वतः छनोट भइसकेकोले क्यानडालाई विश्वकपमा स्थान बनाउन सहज भएको हो।
योसँगै २० टोली सहभागी हुने विश्वकपमा स्थान पक्का गर्ने क्यानडा १३औँ टोली बनेको छ। प्रतियोगिताका लागि सह-आयोजक भारत र श्रीलंकासँगै अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले यसअघि नै स्थान बनाइसकेका छन्। अब युरोपबाट २, अफ्रिकाबाट २ र एसिया क्षेत्रिय छनोटबाट ३ गरी थप सात टोलीले विश्वकपमा स्थान बनाउनेछन्।