×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशी प्रदेश क्रिकेट ट्रफीको उपाधि आर्मीलाई

कोशी प्रदेश क्रिकेट ट्रफीको उपाधि आर्मीलाई

विराटनगर  - मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा सम्पन्न प्रथम कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । 

आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले हराउँदै प्रथम कोशी प्रदेश ट्रफी राष्ट्रिय टी ट्वान्टी च्याम्पियनसिपको उपाधि हात पारेको हो । 


उपाधिसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी हात पारेको छ । उप–विजेता कर्णालीले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

यस सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि उचालेको हो । 

कर्णालीले दिएको १ सय ११ रनको लक्ष्य आर्मीले १२ दशमलव २ बलमा १ विकेट गुमाएर पूरा गरेको थियो । पहिलो विकेटकालागि आर्मीको ओपनर सन्तोष कार्की र ईमरान शेखले २५ रनको साझेदारी गरेका थिए ।

सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका तृतराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरे । आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन र तृतराजले ३३ बलमा अविजित ५० रन बनाए ।

प्रतियोगितामा पहिलो अर्धशतक बनाएका दासले २ छक्का र ५ चौका प्रहार गरेका थिए । शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदार गर्दै खेल आफ्नो पक्षमा पारे । कर्णा दिनेश अधिकारीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर जम्मा १ सय १० रन जोडेको थियो । आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ रन बनाउँदा कप्तान रविन्द्र शाहीले २१, मनिस थापाले २१ र दिनेश अधिकारीले १२ रन बनाए । आर्मीका तृतराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।

च्याम्पियनसिपमा प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ द फाईनलको पुरस्कार आर्मीका अलराउण्डर तृतराज दासले हासिल गरे । प्रतियोगिताको उदयमान खेलाडी आर्मीका नितेश पटेल घोषित भए । विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए । फागुन २२ गतेबाट शुरू भएक‍ो प्रतियोगितामा तीन विभागिय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्