काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंहरू टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’प्रश्नपछि प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने भन्दै एकअर्कालाई अपमानित गर्न नहुने बताए।
ओलीलाई सोधको प्रश्नको आफैले जवाफ दिंदै प्रचण्डले अघि भने, ‘यस्तो भन्नु विल्कुलै जायज होइन। अहिले परिस्थिति नितान्त भिन्न भैसकेको छ। हामीले ती कुरालाई पटक-पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले लियौं भने हामी यो सिस्टममार्फत नेपाली जनतालाई जे दिन खोजेका छौं त्यो दिन सकिने छैन्।’
यस्तै प्रचन्डले राजनीतिक दलहरूबीच फेरि राष्ट्रिय सहमति र समझदारीको आवश्यक्ता देखिएको बताए। उनले देशको आर्थिक समस्या समाधान गर्न पुनः राजनीतिक एकता र समझदारी आवश्यक परेको बताए।
‘हामीले शान्ति प्रक्रियालाई टुङ्ग्याउँदै गर्दा र देशलाई नयाँ राजनीतिक प्रणालीमार्फत देशलाई नयाँ युगमा लग्ने सपना देख्दा राजनीतिक दलहरूबीच उत्कृष्ट सहमति देखाएका थियौं,’ उनले भने, ‘उक्त समयमा राजनीतिक तहमा जुन एकता र राजनीतिक सहमति देखाएका थियौं आज पनि त्यसै प्रकृतिको एकता, सहमति र समझदारी बनाउनु आवश्यक छ।’
प्रचण्डले अर्थतन्त्रमा देखापरेका समस्याहरू, दलहरू भित्र देखा परेका समस्या र अन्तर दलबीच देखिएका समस्या समाधान गर्न फेरि राष्ट्रिय सहमति र समझदारी आवश्यक परेको बताए । ‘अहिले एकले अर्कालाई दोषारोपण गर्ने र घोचपेच गर्ने क्रम बढेको छ,’ उनले भने, ‘तर, यसरी मात्रै समस्या समाधान हुने स्थिति छैन। यो समस्या समाधान गर्न संवाद, एकता र समझदारीको माध्यमबाट अघि बढ्नुपर्छ।’
यस्तै, उनले संविधानसभाबाट संविधान घोषणा भएपछि देश दोस्रो निर्वाचनको तयारीमा रहेको बताए। ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ,’ प्रचण्डले भने, ‘यो निर्वाचन यस्तो समयमा सम्पन्न भयो, जुन बेला हामी संविधानसभाबाट बनेको संविधान कार्यान्वयन प्रक्रियामा नै दुर्घटनामा पर्ने हौं कि भन्ने गम्भिर परिस्थिति बन्यो।’
उनले गत वर्षको स्थिति सम्झँदै भने, ‘गत साल हामीले जे भोग्यौँ । हामीले जसरी संविधानको रक्षाका निम्ति लोकतन्त्रको रक्षाका निम्ति र राष्ट्रियताको रक्षाका निम्ति सडकमा जानुपर्ने परिस्थिति बन्यो । हामी सबै त्यो परिस्थितिबाट गुज्रेका छौं।’प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रचण्डले भरतपुरमा आफूले जनतालाई सतर्क गराएको कुरालाई धम्कीको रुपमा प्रचार गरिएकोमा आपत्ति जनाए।
प्रचण्डले भने-मैले भरतपुरमा जनतालाई सतर्क गराएको कुरालाई धम्की भनियो । यदि गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जान्छ भनेकै हो,फेरि पनि भन्छु यदि यो गठबन्धन कमजोर भयो भने दुर्घटनाको खतरा छ। अध्यक्ष प्रचण्डले केपी ओली माओवादीको सहयोगमै प्रधानमन्त्री बनेको भन्दै अब एमालेको एकल प्रधानमन्त्री बनेर देखाउन चुनौति समेत दिए।
नीति तथा कार्यक्रममाथि छलफल लिन रोष्टममा उभिएका प्रचण्डले अधिकांश समय ओलीको आलोचनामा खर्च गरेका थिए। ओलीमा अझै पनि आत्मालोचनाको संकेत नदेखिएको भन्दै अहंकार र दम्भबाट अझै पछि नहटेको प्रचण्डले बताए। उनले एमालेका धेरै नेता कार्यकर्ताप्रति आफ्ना अझै पनि भरोसा र विश्वास रहेको भन्दै उनीरूसँग मिलेर काम गर्न कठिन नहुने बताए।