काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तान परिवर्तन गरिएको छ । स्टार फरवार्ड सावित्रा भण्डारी 'साम्बा' ले टोलीको नयाँ कप्तानको जिम्मेवारी पाएकी छिन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई पदबाट हटाउँदै सावित्रालाई उक्त जिम्मेवारी सुम्पेको हो । एन्फाले यसअघि नै कप्तान परिवर्तन हुनसक्ने संकेत दिएको थियो ।
यो निर्णय उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको महत्वपूर्ण खेल सुरु हुनुभन्दा ठीक अगाडि लिइएको हो ।
कप्तान परिवर्तनसँगै टोलीको गोलकिपरको जिम्मेवारी पनि हेरफेर गरिएको छ । एन्जिलाको स्थानमा अब अन्जना राना मगरले नेपालको गोलपोस्ट सम्हाल्नेछिन् । यसअघि एन्जिला टोलीकी नियमित कप्तान र पहिलो रोजाइकी गोलकिपर दुवै थिइन् ।
हाल नेपाली टोलीले लाओसविरुद्धको खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।