काठमाडौँ- एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रूपमा लिएको बताएकी छिन् । अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत उनले यसलाई सहज रूपमा लिएको जनाएकी हुन् ।
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । विष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत मात्र पाएकी हुन् ।
झाँक्रीले पछिल्लो केही समय अत्यन्तै रोमाञ्चक रहेको र ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी ठानेको बताएकी छन् ।
‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो। ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,’ उनले भनेकी छिन्, ‘यो साढे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ। डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन । मैले अत्यन्तै सहज रूपमा लिएको छु। मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधैं ऋणी हुनेछु।
उनले आफ्ना पक्षमा हजारौं मतदाताले अभिमत दिएको र यसप्रति म सधैं ऋणी रहने बताएकी छिन् । निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिएकी छन् ।
उनले निर्वाचनमा विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा दिएकी छिन् । पराजित भए पनि गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथ रहने प्रतिबद्धता जनाएकी छन् ।