×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धरहराको अझै १५ प्रतिशत काम बाँकी

धरहराको अझै १५ प्रतिशत काम बाँकी

काठमाडौं- दुई वर्षअघि नै उद्घाटन भएको धरहराको अझै १५ प्रतिशत काम बाँकी

काठमाडौं घुम्न आउने धेरैका लागि सुन्धारास्थित धरहरा आरोहण आकर्षण बन्ने गर्छ । तर, आठ वर्षअघि गएको भूकम्पले धरहरा ढलेपछि सर्वसाधारणको यो चाहना पूरा हुन सकेको छैन । हुन त ढलेको धरहरा दुई वर्षअघि नै ठडिइसके पनि सर्वसाधारणले भने अझै प्रवेश पाएका छैनन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ठडिएको भन्दै उद्घाटन पनि गरेका थिए । तर, वरपरको संरचना अझै बनिनसकेको भन्दै सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । धरहरा निर्माण अझै १५ प्रतिशत बाँकी रहेको जनाइएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले ११ वैशाख ०७८ मा उद्घाटन गरेका थिए । 

धरहरा निर्माण गरिरहेको कम्पनी जिआइटिसी रमन कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर रमेश पौडेलका अनुसार धरहरा अगाडिपट्टिको सडक व्यवस्थित र बगैँचा निर्माण, बाहिरी भाग व्यवस्थित, हरियाली बनाउने, ढुंगा छाप्नेलगायत काम बाँकी छ । छेउमै रहेको सुन्धारा पुनर्निर्माण र पुरानो धरहरा व्यवस्थापन पूरा नभएको उनले बताए । ‘काम त ८५ प्रतिशत सकियो । सरकारी पक्षबाट भुक्तानी ढिलो हुँदा असहज भएको छ,’ पौडेलले भने । उनका अनुसार सहरी विकास तथा भवन निर्माण विभागले करिब २५ करोड भुक्तानी गर्न बाँकी छ ।

धरहरामा जडान गरिएको दुईमध्ये एक लिफ्ट प्रयोगमा नआउँदै बिग्रिएको थियो । त्यो पनि मर्मत भइसकेको छ । धरहरामा अहिले पनि दैनिक एक सय ५० जना कामदारले काम गरिरहेका छन् । धरहरा निर्माण दुई वर्षमा सम्पन्न हुने गरी ०७५ मा रमन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । सोही वर्षको कात्तिकदेखि कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । हालसम्म चारपटक म्याद थप भइसकेको छ । 

जिआइटिसी रमन कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर रमेश पौडेल भन्छन्–
धरहरा अगाडिपट्टिको सडक व्यवस्थित र बगैँचा निर्माण, बाहिरी भाग व्यवस्थित, हरियाली बनाउने, ढुंगा छाप्नेलगायत काम बाँकी छन् । पुरानो धरहरा व्यवस्थापन पनि पूरा भएको छैन । सरकारी पक्षबाट भुक्तानी ढिलो हुँदा पनि असहज भइरहेको छ ।

पुरानो धरहरा संरक्षण अघि बढेन
धरहरापरिसरका अन्य संरचना निर्माणले गति लिए पनि सुन्धारा पुनर्निर्माण र पुरानो धरहरा संरक्षणसम्बन्धी काम अघि बढ्न सकेको छैन । सुन्धारा पुनर्निर्माण गलत तरिकाले भएको आरोपमा स्थानीयले विरोध गरेपछि काम रोकिएको थियो । निर्माण कम्पनीको कामविरुद्ध काठमाडौं महानगरका मेयर बालेन्द्र साहले समेत आपत्ति जनाएका थिए । भूकम्पले ढलेको धरहरा संरक्षण पनि उपयुक्त तरिकाले नभएको भन्दै स्थानीयले विरोध गरेपछि कम्पनीले काम रोकेको थियो । 

प्रतिकृया दिनुहोस्