×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

थ्री स्टारलाई हराउँदै शीर्षस्थानमा उक्लियो नवप्रवेशी सातदोबाटो

थ्री स्टारलाई हराउँदै शीर्षस्थानमा उक्लियो नवप्रवेशी सातदोबाटो

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मानिएको थ्री स्टार नवप्रवेशी क्लब सातदोबाटोसँग पराजित भएको छ । शुक्रबारको खेलमा थ्रीस्टारलाई पराजित गर्न  सातदोबाटोले गरेको एकमात्र गोल निर्णायक बन्यो ।  जितसँगै २ खेलमा ४ अंक बनाएको सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार तीन पटकको च्याम्पियन थ्री स्टारलाई पराजित गर्न सातदोबाटोका लागि सुदिप गुरुङले २९औँ मिनेटमा गोल गरे । मार्टिन्स अजयीले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट आकर्षक गोल गरेका थिए ।

दुवै टीमले गोलका केही सुन्दर मौका गुमाए । ३६औँ मिनेटमा सातदोबाटोका निरज चौधरीले स्कोर दोब्बर पार्ने मौका चुकाए । ३७औँ मिनेटमा थ्री स्टारका ऋतिककुमार खड्काले २५ यार्डबाट गरेको शशक्त प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले उत्कृष्ट बचाउ गर्दा थ्री स्टार बराबरीको अवसरबाट वञ्चित भयो ।

दोस्रो हाफमा पनि थ्रिस्टारका केहि राम्रा मौका सातदोबाटोका गोलरक्षकले बचाएका थिए । ७२औँ मिनेटमा प्रशान्त अवस्थीको पासमा पेनाल्टी क्षेत्रभित्रबाट मार्टिन्स अजयीको सशक्त प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए । खेलको इन्जुरी समयमा सातदोबाटोका अजयीले गोलको अवसर गुमाएका थिए ।

सातदोबाटो पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रतिकृया दिनुहोस्