दिनेश थापा । नेपाल कल्याण समाज जापाद्वारा आयोजित प्रथम हाकोने कप भलिबल प्रतियोगिता २०२६ भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। जापानस्थित नेपाली समुदायबीच एकता, भाइचारा तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न क्लब तथा संस्थाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगिताको खुला पुरुषतर्फ नगद ३,११,१११ ट्रफी, मेडल र प्रमाण पत्र हात पार्दै पिरो स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भयो भने २,११,१११ ट्रफी, मेडल र प्रमाण पत्र हात पार्दै आदर्श युवा क्लब, सर्दाखेत उपविजेतामा सीमित रह्यो। त्यसैगरी ३२ वर्ष उमेर समुह माथिको भेट्रान्सतर्फ नगद १,५५,५५५ ट्रफी, मेडल र प्रमाण पत्र सहित पिरो स्पोर्ट्स क्लबले उपाधि आफ्नो नाममा पार्दा उपविजेता बन्न सफल भएको NYSC जापानले नगद ७५,५५५ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
प्रमुख अतिथि गैर आवसीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानका अध्यक्ष शुभाष लामीछाने आफ्नो मन्तव्यका क्रममा जापानमा रहेका नेपालीहरूलाई खेलकुदले एकताबद्ध बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले प्रथम हाकोने कप भलिबल प्रतियोगिताले नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
विधागत पुरस्कारतर्फ खुला पुरुषतर्फ सन्तोष परियार बेस्ट स्पाइकर, अशोक जिसी बेस्ट सेटर, रञ्जित राजवंशी बेस्ट डिफेन्डर, सुनील कार्की बेस्ट ब्लकर, अशोक सुनार MVP (बेस्ट प्लेयर) तथा निराजन मल्ल बेस्ट कोच घोषित हुनुभयो। त्यसैगरी भेट्रान्सतर्फ केशव सुवेदी बेस्ट कोच तथा पिरो स्पोर्ट्स क्लबका मनोज केसी MVP (बेस्ट प्लेयर) घोषित भएको खेल संयोजक मनोज केसीले बताए ।
प्रतियोगिताको अर्को विशेष आकर्षण हाकोने क्षेत्रको प्राकृतिक सौन्दर्य पनि रह्यो। प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा खेलप्रेमी दर्शकहरूले जापानको अत्यन्तै मनोरम तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित हाकोनेको अवलोकन गर्ने अवसर प्राप्त गरेका थिए। प्राकृतिक दृश्य, हिमालको मनोरम दृश्यावलोकन, ताल तथा पर्यटकीय वातावरणले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो। खेलकुदसँगै पर्यटन प्रवर्द्धनको सन्देश समेत दिएको यस प्रतियोगिताले सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको खेल संयोजक मनोज केसीले बताए ।
कार्यक्रमको समापन गर्दै सभापति विष्णु शर्माले प्रतियोगिताको सफल आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति, संस्था, प्रायोजक, स्वयंसेवक तथा खेलाडीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रममार्फत नेपाली समुदायबीच एकता, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतियोगिताले जापानस्थित नेपाली समुदायलाई खेलकुदमार्फत एकताको सूत्रमा बाँध्नुका साथै स्वस्थ प्रतिस्पर्धा, सामाजिक सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेको संरक्षक जोए बहादुर खड्काले बताए। कार्यक्रम सञ्चालन संस्थाका महासचिव खेमलाल सापकोटा (राजु) तथा सदस्य प्रभु अधिकारीले संयुक्त रूपमा गर्नुभएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष सुवर्ण भट्टले स्वागत मन्तव्य साथै प्रतियोगिताको खेल संयोजन मनोज केसीले गर्नुभएको थियो ।