×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्धन आयातको विरोधाभास: कारोबार घट्यो, कर बढ्यो

इन्धन आयातको विरोधाभास: कारोबार घट्यो, कर बढ्यो

वीरगञ्ज - चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वीरगञ्ज नाकाबाट हुने पेट्रोलियम पदार्थको आयात मूल्यमा कमी आए पनि राजस्व संकलन भने उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा कुल रु. १ खर्ब ७४ अर्ब ९ करोड बराबरको डिजेल, पेट्रोल, एलपिजी ग्यास, हवाई इन्धन र मट्टितेल आयात भएको छ। गत वर्षको तुलनामा समग्र आयात मूल्य रु. १ अर्ब ६ करोडले घटे पनि राजस्व संकलन भने ११.६६ प्रतिशत अर्थात् रु. ७ अर्ब ६४ करोडले वृद्धि भएको हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयको राजस्व संकलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थकै रहेको छ। उनले भने, "यहाँको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातमा निर्भर छ।" चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्रै कार्यालयले रु. ७३ अर्ब १८ करोड राजस्व संकलन गरेको छ, जबकि गत आवको सोही अवधिमा यो रकम रु. ६५ अर्ब ५४ करोड थियो।

तथ्याङ्क अनुसार, चालु आवको जेठ मसान्तसम्म रु. ८९ अर्ब ७६ करोड मूल्यको १० लाख ३० हजार किलोलिटर डिजेल आयात भएको छ, जसबाट रु. ४१ अर्ब ३ करोड राजस्व संकलन भयो। गत वर्ष सोही अवधिमा रु. ९३ अर्ब ६३ करोडको डिजेल आयात हुँदा रु. ३६ अर्ब ४ करोड राजस्व उठेको थियो।

त्यसैगरी, रु. ३५ अर्ब ३४ करोड मूल्यको ४ लाख १३ हजार किलोलिटर पेट्रोल आयात भएको छ। पेट्रोल आयातबाट कार्यालयले रु. २३ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ। गत वर्षको ११ महिनामा रु. ३६ अर्ब ४ करोडको पेट्रोल आयातबाट रु. २० अर्ब ७३ करोड राजस्व प्राप्त भएको थियो।

यसै अवधिमा खाना पकाउने एलपिजी ग्यासको आयात भने बढेको छ। रु. ३३ अर्ब ३५ करोड मूल्यको २९ करोड १४ लाख किलोग्राम ग्यास आयात हुँदा रु. ६ अर्ब २४ करोड राजस्व संकलन भएको छ। गत वर्ष रु. २७ अर्ब ७१ करोडको ग्यास आयातबाट रु. ५ अर्ब १६ करोड राजस्व उठेको थियो।

हवाई इन्धन (एटिएफ) को आयात भने चालु आवको ११ महिनामा रु. १५ अर्ब ३ करोड मूल्य बराबरको भएको छ, जसबाट रु. २ अर्ब ३५ करोड राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा रु. १७ अर्ब ११ करोडको एटिएफ आयात हुँदा रु. २ अर्ब ४७ करोड राजस्व उठेको थियो।

सबैभन्दा कम आयात हुने मट्टितेलतर्फ चालु आवको ११ महिनामा रु. ५९ करोडको आयात भएको छ। मट्टितेल आयातबाट रु. १६ करोड राजस्व संकलन भएको छ, जुन गत वर्षको राजस्व संकलन बराबर नै हो।

प्रतिकृया दिनुहोस्