काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना सबैले गर्नुपर्ने बताएका छन् । अहिले संविधानमाथि सबैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले बताए ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरणमा अल्मल्याएर संविधानलाई नै कमजोर बनाउन खोजिएको टिप्पणी गरे । संविधान कमजोर हुँदा लोकतान्त्रिक गणतन्त्र पनि कमजोर हुने उनको भनाई छ ।
उनले जीवन मृत्युको आधारको रूपमा रहेको नागरिकता विधेयक कुनै बहानामा रोकिएमा ठूलो असमज्यता देखिने उल्लेख गरे । विधेयक प्रमाणीकरणमा अवरोध गरिनु असंवैधानिक कदम भएको उनले उल्लेख गरे । गठबन्धनलाई नेपाली काँग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको जनअधिकार सङ्कटमा पर्ने खाँणले तर्क गरे । लोकतन्त्रको बहाली र सुदृढीकरणको लागि काँग्रेसको अग्रसरतामा गठबन्धन गरिएको उनको भनाई थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाण रुपन्देहीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्दैछन् । आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर वडा नम्बर ६ भैरहवामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।