×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विक्रम पाण्डेको प्रश्नः भोट दिन पनि डराउनुपर्ने कस्तो लोकतन्त्र हो ?

विक्रम पाण्डेको प्रश्नः भोट दिन पनि डराउनुपर्ने कस्तो लोकतन्त्र हो ?

भरतपुर- पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले मतदाताले स्वतन्त्र बनेर मतदान गर्न पाउनुपर्ने बताउनुभएको छ । भरतपुर–२० भिमनगरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टीले कारवाही गर्ने डरमा नबसी आफ्नो क्षेत्रको विकासका लागि योग्य उम्मेदवारलाई जिताउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । 

“सिद्धान्त पढाउने नेताहरुले यसलाई, उसलाई भोट दिनु भनेर कहिलेसम्म निर्देशन दिइरहने हुन् ?”, उहाँले भन्नुभयो, “जनता स्वतन्त्र हुन पनि नपाउने ? आँफ्नो उम्मेदवारलाई भोट दिन पनि डराउनुपर्ने कस्तो लोकतन्त्र हो ?” उहाँले विकास र समृद्धिका लागि यसपाली दलीय निर्देशनभन्दा माथि उठेर मतदान गर्नुपर्ने बताउनुभयो । “अन्य धेरै पार्टीका साथीहरुले भोट दिन तयार हुनुहुन्छ, तर उहाँहरु खुल्न चाहनुहुन्न”, पाण्डेले भन्नुभयो, “भोट दिदा पनि डराउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ, मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनुपर्छ ।”

हार्दा या जित्दा लगातार एकै निर्वाचन क्षेत्रमा रहेर काम गरेकाले यसपाली विकासका लागि विक्रम पाण्डे भनेर मतदाताहरु उत्साहित भएको दाबी गर्नुभयो । ठुला भाषणले विकास नआउने भएकाले यसपाली जनताहरुले ढुक्क भएर आँफुलाई मतदान गर्ने बताउनुभयो । राजनीति गर्नेहरुले देशलाई दलदलमा फसाएको भन्दै अब राजनीति गर्ने भन्दा विकास निर्माणमा प्रतिवद्ध उम्मेदवार जिताउनुपर्ने तर्क गर्नुभयो । 

उहाँले पश्चिम चितवनलाई कृषि र पर्यटनको हब बनाउने आयोजनाहरु कार्यान्वय गरिने बताउनुभयो । “विदेशमा भएका युवालाई पनि फर्काएर व्यवसायीक कृषिकर्ममा लगाउने छौँ, बजारीकरण र उत्पादनमा सहजीकरणका कामहरु गर्नेछौँ”, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “माटो सुहाउँदो कृषि काम गर्न प्रोत्साहन गर्नेछौँ ।”

उहाँले पुलचोक–गोलाघाट–सौराहासम्म बनाइने पर्यटन मार्गमा साइकिलिङका लागि स्वदेशी तथा विदेशी पर्यटक आर्कषित गराइने बताउनुभयो । जनताका हरेक दुःख, समस्या समाधान गर्न जनतासँगै निकट रहेर काम गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्