काठमाडौं - भक्तपुर २ मा लौरो समुहका स्वतन्त्र उम्मेदवारले आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा तर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नु भएका लोकेन्द्र पोखरेलले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसीर ४ गतेको निर्वाचनमा मतदान गर्न लौरो अभियानका अभियान्ताहरुलाई आव्हान गर्नु भयो । उहाँले भन्नुभयो, “लौरोले हिर्काउने होइन, राष्ट्र र राष्ट्रियताको सवालमा अडिग रहनेलाई लौरोले त साहारा दिनु पर्छ, त्यस्तो व्यक्तित्व महेश बस्नेत हो, उहाँको बिकल्प छैन भन्ने निष्कर्षमा पुगेर एमाले र लौरो अभियन्ताबीच एकता भएको हो ।”
पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्व सांसद एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतलाई लौरो उपहार दिदैँ उहाँले आजकै दिनबाट आफ्नो उम्मेदवारी फिर्ता लिई आफूसहित लौरो अभियानका स्वतन्त्र अभियन्ताहरुले भक्तपुरमा एमालेका उम्मेदवार बस्नेतलाई अत्याधिक मतले विजयी बनाउने अभियानमा एकजुट भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा लौरो ग्रहण गर्दै प्रतिनिधि सभातर्फ एमालेका उम्मेदवार महेश बस्नेतले आजबाट लौरोका अभियन्ता मात्र नभई तमाम स्वतन्त्र अभियन्ताहरुसँगको सहयात्रा सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “टाढाबाट हेरेर र सुनेर होइन, महेश बस्नेतलाई चिन्न र यहाँको विकास हेर्न यहीँ आउनुपर्छ, भन्ने यथार्थ बुझेर आज लौरोले समर्थन गरेको छ, राष्ट्रियताको पक्ष, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्यको व्यबस्था गर्ने लगायतका राष्ट्रहितका एजेण्डा बोकेका सबै एक भएर राष्ट्रहित विपरितको गठबन्धनलाई परास्त गर्नु आजको आवश्यकता हो ।”
राष्ट्रियताको पक्ष, एमसीसी, एसएसपी, नागरिकता विधेयकको विक्षमा, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यबस्थाको सवालमा एमालेसँगै लक्ष्य र अभियान मिलेका सबै समूह एक हुनुपर्नेमा जोड दिनुभयो ।
एमाले नेता एवं उम्मेदवार बस्नेतले विपक्षीले कुनै विषय नपाए पछि तर्कहिन कुरालाई आधार बनाएर आरोप लगाएको सन्दर्भ कोट्याउदै भन्नुभयो, “हत्या, अपहरण, चन्दा असुली, लुटपात, कुटपिट, धम्की जस्ता अराजकताको बिरुद्ध मैले युथ फोर्स गठन गर्दा विपक्षीले गुण्डा भने, सुरेन्द्र यादवसहितको नेताहरु एमाले प्रवेश गर्ने कार्यमा सहजीकरण गरिदिदाँ अपहरणको आरोप लगाए, गाईको दूध दुहुने क्रममा अलिअलि गोबर लाग्छ, कहिलेकाँही लात्ति हान्छ, यस्ता आरोप आफै मिथ्या सावित भएर गइरहेका छन् ।”
मधेश र पहाडबीचको सम्बन्ध भत्काउने, जनजाती र बाहुन क्षत्रीबीचको एकता विभाजन गरेर देशलाई सधै अस्थिरतामा धकेलेर स्वार्थ पुरा गर्न खोज्नेको त्यस्ता कदमलाई असफल बनाउन सफल भएको उहाँको भनाइ थियो । विकासको सन्दर्भ कोट्याउदै उहाँले भन्नुभयो, “भक्तपुरमा भौतिक पूर्वाधारको अधिकांश काम सकिएको छ, केही काम निरन्तर भइरहेको छ, केही काम अहिलेको गठबन्धन सरकारले बजेट काटिदिदाँ रोकिएको छ, मेरो जीत पछि अबको पाँच वर्षमा त्यस्ता बाँकी कामहरु पुरा गर्नुछ, हनुमन्ते करिडोर, मनोहरा करिडोर, विश्व विद्यालय, अत्याधुनिक स्वास्थ्य सेवा दिन सक्ने मेडिकल कलेज, प्राणी उद्यान, पाँच हजार क्षमतको सभा हल, खेल मैदान, रंगशाला, दुवाकोटमा बीर अस्पताल, मुटुको सबै सेवासमेत दिने गरि भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर धुलिखेल सडक, विद्युतलाई अण्डरग्राउण्ड, तीन स्मार्ट सिटी, साँगा र कोटेश्वरमा सुरुङ्ग मार्ग निर्माण जस्ता थुप्रै आयोजनाहरु सम्पन्न गर्न, बौद्धिक ज्ञान केन्द्र, युवा लक्षित कार्यक्रम, महिला सीप, इलाइब्रेरी जस्ता योजनाहरु ल्याउने काम म गर्नेछु, अबको पाँच वर्षमा यहाँका सबै सडक कालोपत्र हुने छन्, सबै क्षेत्र पुल र सडक सञ्जालले जोडिने छन्, विद्यालयका भौतिक एवं शैक्षिक गुणस्तर बृद्धि गरिने छ, सूर्यविनायक नगर अस्पताललाई यहाँका बासिन्दाका लागि निःशुल्न उपचार गर्ने गरि बिकास गर्ने काम पुरा गर्नेछु ।”