×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

स्याङ्जा । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन । कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो । 

विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। ‘झण्डै सात/आठ महिनासम्म प्लान्ट प्रयोगविहीन अवस्थामा रह्यो’, उनले भने, ‘नेपाल विद्युत प्राधिकरणसँगको समन्वय र सहयोगमा विद्युतको क्षमता विस्तार गरी प्लान्ट सञ्चालनमा ल्याइएको हो ।’

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि प्लान्ट सञ्चालनका लागि प्रजिअ पौडेलले समन्वय गरेकाे थियो । अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अब जिल्लाका बिरामीलाई अक्सिजनको अभाव नहुने अस्पताल सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले बताए ।

पन्ध्र एनएमक्यूब क्षमताको उक्त प्लान्टले प्रतिघण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।रमेशप्रसाद आचार्यले जानकारी दिए । प्लान्टबाट दैनिक ७० देखि ७५ वटा सिलिण्डर भर्न सकिने उनले बताए ।

प्रतिकृया दिनुहोस्