बिहीबार मुलुकका धेरैजसो स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली प्रभाव र ताउ(ते नामक सामुन्द्रिक आँधीका कारण मंगलबारबाट नेपालमा वर्षा भइरहेकामा अझ सक्रिय बनेको छ।
यसको प्रभाव पश्चिमबाट उत्तर पूर्वतिर अगाडि बढेको छ। फलस्वरुप बिहीबार बिहान काठमाडौं उपत्यकासहित मुलुकका कयौं स्थानमा पानी परेको छ।
बिहीबार दिउँसो मुलुकभर बदली रहने र धेरैजसो स्थानमा पानी पर्नेछ। प्रदेश १, गण्डकी र बागमती थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।उच्च हिमाली भूभागका केही स्थानमा भारी हिमपात र वर्षाका सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, सुदूरपश्चिम र लुम्बनीका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार शुक्रबार पनि पानी पर्नेछ। राति प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सामान्यतय सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।