चितवन- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् चितवन क्षेत्र नं.३ का उमेदवार विक्रम पाण्डेले सुकुमबासीमाथि राजनीति गर्ने कामको अन्त्य हुनुपर्ने बताउनुभएको छ । चुनावी प्रचारप्रसारका क्रममा भरतपुरका विभिन्न वडा तथा टोलमा पुगेका पूर्वमन्त्री पाण्डेले दलहरूले हरेक निर्वाचनमा दलहरूले सुकुमबासीमाथि राजनीति गर्दै आएको हुँदा अब सुकुमबासीको समस्या समाधान गरेर उनीहरूमाथि हुने राजनीतिकरणको अन्त्य गर्नुपर्ने बताउनुभएको हो ।
‘दलहरूले हरेक निर्वाचनमा लालपुर्जा दिलाउने र सुकुमबासी समस्या समाधान गर्ने आश्वासन दिन्छन्। तर, समाधान कहिल्यै गर्दैनन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले सुकुमबासीमाथि भइरहेको राजनीतिकरणको अन्त्य गर्न पनि यसपटक चितवन–३ मा विक्रम पाण्डे चुनावी मैदानमा आएको हो।’ आफू जनताको सेवक भएर काम गर्न आएको बताउँदै नेता पाण्डेले भाषण गरेर सासन गर्नेहरूसँग सतर्क रहन पनि आम मतदातालाई आग्रह गर्नुभयो ।
ठूला दलले भाषण गरेर हरेक निर्वाचनमा लालपुर्जा वितरण गर्ने आश्वासन दिएपछि वाक्कदिक्क भएका सुकुमबासी समस्या समाधानको लागि एक पटक संसदको बाटो रोजेको उहाँको भनाइ छ । ‘एकपटक संसदमा पुगेर चितवनको सुकुमबासी समस्या समाधान गर्ने र उनीहरूमाथि हुँदै आएको राजनीतिकरणलाई सधैँका लागि बन्द गर्न सपना बोकेर आएको छु,’ उहाँले भन्नुभयो ।
पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा भएर पनि आफ्नो हातमा प्रमाण पुर्जा नहुँदा कुनै पनि काम गर्न नपाएको हुँदा सुकुमबासीको समस्या समाधान गर्ने कामलाई विशेष प्राथमिकतामा पारेको उहाँको भनाइ छ। चितवनको सुकुमबासी समस्याबारे आफू जानकार रहेको बताउँदै नेता पाण्डेले भन्नुभयो, ‘यस्तो समस्या समाधानका लागि व्यक्ति एक्लै लागेर सम्भव हुँदैन। सरकारमा जानुपर्छ। त्यसैका लागि यहाँहरूसमक्ष म आएको छु।’