काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन् । उनले कांग्रेस कमजोर भएर होइन, संविधान रक्षाका लागि गठबन्धन गरिएको स्पष्ट पारे ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार कांग्रेस र नेकपा माओवादी केन्द्रको नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे । तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उनले जीवन विविधताकै कारणले चल्ने उल्लेख गरे ।
अहिलेको समयमा कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्याएर मतदान गर्न उनले मतदातासामु आग्रह गरे । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अझै पनि नेपाली समाजमा महिलालाई माथि उठ्न नदिइएको उल्लेख गर्दै यसको अन्त्यका लागि कांग्रेसलाई तीनवटै तहमा विजयी गराउन आग्रह गरिन् ।