काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नाे दाजु हरिशरण लामिछानेसँग कुनैखाले मनमुटाव नरहेकाे प्रष्टीकरण दिएका छन् । शुक्रबार रिपाेटर्स क्लबमा आयाेजित पार्टीकाे पत्रकार सम्मेलनमा पत्रकारहरूसँग छलफल गर्दै उनले भने, ‘जसले मलाई उठ्न सिकायाे, उविरुद्ध कहिल्यै उठ्दिनँ ।’ उनले आफूले दाजु हरिशरणबाट जहिल्यै आशीर्वाद लिँदै आएकाे र अझै लिने उनले बताए ।
‘जसले मलाई हातमा डाेर्याएर हिँड्न सिकायाे, उविरुद्ध कसरी म जान सक्छु,’ उनले भनेका छन् । यसअघि असार ७ गते रविले पार्टीकाे घाेषणा गरेपछि उनका दाजु हरिशरणले भनेका थिए— राष्ट्रिय स्वतन्त्र पार्टीमा आजीवन जान्नँ । यसप्रति साेधिएकाे प्रश्नमा उनले भनेका छन्, ‘छलफल हुन्छ । छलफल पनि कहिलेकाहीँ आफ्नै तवरले अगाडि बढ्छन् । कहिले पारिवारिक छलफल हुन्छ । कहिले राजनीतिक छलफल हुन्छ । चुनावसम्ममा अवस्था परिवर्तन हुनसक्छ । हामी देशकाे बेथितिविरुद्ध लड्ने हाे, आफैँ लड्दैनाैँ ।’