काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको हो ।
आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्ने भन्नेबारे छलफल भइरहेको छ । अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।
लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो। तर पुस ६ मा बसेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो।
लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। त्यस्तै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेस गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ।