×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महाकाली नदीमा पानीको बहाव बढ्दा आवागमन ठप्प

महाकाली नदीमा पानीको बहाव बढ्दा आवागमन ठप्प

महेन्द्रनगर - महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न बनवासा पुलमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको बताए । भारतीय पक्षले पुल जीर्ण रहेको कारण देखाउँदै नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ ।

“नदीमा पानी बढेपछि आइतबार बेलुकीदेखि नै वनबासा पुलमा पैदल र मोटरसाइकल बाहेक ठूला सवारी चलेका छैनन्”, प्रहरी नायब निरीक्षक गुरुङले भने, “अहिले पानी घट्दो क्रममा रहेको बुझिएको छ ।” पुल बन्द हुँदा नेपाल–भारत आवातजावत गर्ने यात्रुहरु प्रभावित बनेको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम औँल्याइए पनि यहाँबाट मजदुरीका लागि दैनिक सयौँ नेपाली भारत जाने गरेका छन् ।

गत जेठ महिनायता महाकाली नदीमा दुई पटक ठूलो बाढी आइसकेको छ । यसअघि आएको बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल संरचनामा क्षति पुर्याएको थियो । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडीमा अविरल वर्षा हुँदा र भारतले धौलीगङ्गाको बाँध खोल्दा यहाँ महाकाली नदीमा पानीको बहाव बढ्ने गरेको छ । आइतबार रातिदेखिको वर्षाका कारण दार्चुलामा जनधनको क्षति हुनुका साथै पहाडी जिल्लामा पहिरो जाँदा सडक अवरुद्ध बनेका छन् ।

प्रतिकृया दिनुहोस्