×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनमा अँध्यारो फर्कियो: आजदेखि दिनहुँ ६ घण्टा लोडसेडिङ!

चितवनमा अँध्यारो फर्कियो: आजदेखि दिनहुँ ६ घण्टा लोडसेडिङ!

काठमाडौं - कुनै समयको कहालीलाग्दो लोडसेडिङको पीडा फेरि बल्झिएको छ। पूर्वी चितवनका बासिन्दाहरू आजदेखि दैनिक ६ घण्टाको लोडसेडिङको मार खेप्न बाध्य भएका छन्। नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले तालिका नै सार्वजनिक गर्दै दिनमा दुई पटक गरी बिजुली कटौती हुने जानकारी दिएको हो।

किन भयो लोडसेडिङ?

प्राधिकरणका अनुसार, यसपटकको लोडसेडिङको मुख्य कारण अचाक्ली बढेको गर्मी, खडेरी र धान रोपाइँका लागि सिँचाइको माग ह्वात्तै बढ्नु हो। आकाशे पानी नपरेपछि सिँचाइका लागि मोटर र पम्प चलाउँदा विद्युत्को माग अप्रत्याशित रूपमा बढेको छ।

प्राविधिक रूपमा भन्नुपर्दा, भरतपुर १३२/३३ केभी सब-स्टेसनबाट आउने तारको क्षमता ३०० एम्पियर मात्र हो, तर अहिले सिँचाइ लगायतको माग बढेर ४५० एम्पियरसम्म पुगेको छ। यसरी क्षमताभन्दा डेढ गुणा बढी बिजुलीको चाप परेपछि तारले लोड धान्न नसकेको र प्रणालीलाई जोगाउन लोडसेडिङ गर्नुको विकल्प नभएको प्राधिकरणले सूचनामार्फत जनाएको छ।

यो समस्याको स्थायी समाधानका लागि बसेनी सब-स्टेसनबाट विद्युत् आपूर्ति गर्ने गरी नयाँ ३३ केभी प्रसारण लाइन निर्माणको काम भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ।


कहाँ, कहिले बत्ती जान्छ? यस्तो छ तालिका:
लोडसेडिङ चनौली वितरण केन्द्रअन्तर्गतका नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा हुनेछ।

१. नारायणी-माडी फिडर:

बिहान ६:०० बजे देखि ९:०० बजेसम्म
दिउँसो ३:०० बजे देखि ६:०० बजेसम्म
२. मेघौली-विजयनगर–शुक्रनगर फिडर:

बिहान ९:०० बजे देखि १२:०० बजेसम्म
बेलुका ६:०० बजे देखि ९:०० बजेसम्म
३. जगतपुर-रामपुर फिडर:

दिउँसो १२:०० बजे देखि ३:०० बजेसम्म
बेलुका ९:०० बजे देखि १२:०० बजेसम्म

प्रतिकृया दिनुहोस्