काठमाडौं - 'सिधाकुरा डटकम' को चर्चित कार्यक्रम ‘डार्क फाइल’ लाई नक्कली (फेक) अडियो उपलब्ध गराएको अभियोगमा दोषी ठहर भएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । सर्वोच्च अदालतले ६ महिना कैद सजाय सुनाएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीले इटहरीबाट पक्राउ गरेको हो ।
तिमल्सिनाले सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारहरूलाई बदनाम गर्ने गरी तयार पारिएको अडियो ‘डार्क फाइल’ लाई दिएका थिए । उक्त अडियो नक्कली भएको पुष्टि भएपछि सर्वोच्च अदालतले गत असोजमा उनलाई दोषी ठहर गरेको थियो ।
सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले तिमल्सिनालाई माफी माग्ने अवसरसमेत नदिई ६ महिना कैदको कठोर फैसला सुनाएको थियो । फैसलामा उनले कैदबापत रकम तिरेर छुट पाउने सुविधा पनि नपाउने स्पष्ट पारिएको थियो । सोही प्रकरणमा अन्य दुई पत्रकारलाई भने सर्तसहित तीन महिनाको कैद सजाय सुनाइएको थियो ।
अदालतको फैसलापछि फरार रहेका तिमल्सिनालाई अन्ततः प्रहरीले पक्राउ गर्न सफल भएको हो ।