काठमाडौं । निर्वाचन आयोगले बजेटभन्दा बाहिर गएर गरिएको खर्चको विवरण २४ घण्टाभित्र पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटभन्दा बाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।
‘निर्वाचन मिति तोकिइ निर्वाचन कार्यक्रमहरु कार्यान्वयन भइरहेको अवस्थामा व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरुमा नपरेका विभिन्न नयाँ योजनाहरु सिर्जना गरी कार्यक्रमहरुसमेत तयारी गरी नेपाल सरकार, अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायहरुमा बजेट सरमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको छ’, शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘निर्वाचन मिति तोकिए पश्चात व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत रकम कुन कुन योजना तथा कार्यक्रमरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ,छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोगलाई प्राप्त हुने गरी विवरण पेश गर्ने निर्देशन दिएको छ ।’
सरकारले गत साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको थियो । तर आव २०७९/८० को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।