काठमाडौं - नेपालले बंगलादेश र नेदरल्यान्ड्सँग क्रिकेट सिरिज खेल्न लागेको चर्चा अहिले सामाजिक सञ्जालमा व्याप्त छ । बंगलादेशी न्युज च्यानलको हवाला दिँदै क्रिकेटका पेजहरुले उत्साहसाथ यो समाचार सेयर गरिरहेका छन् ।
तर, नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सामाजिक सञ्जालमा चर्चा भएजस्तो त्रिकोणात्मक सिरिजको तत्काल कुनै पनि तयारी छैन । क्यानका प्रवक्ता छुम्बी लामाले हल्ला सत्य नभएको बताए ।
उनले भने , ‘मैले पनि धेरै पोस्टहरु देखिरहेको छु । बंगलादेशको क्रिकेट बोर्डका अध्यक्षले कुनै सन्दर्भमा बोलेको बाइट हालेर समाचार बनाइएको रहेछ । तर, बंगलादेशसँग सिरिज खेल्नेबारे कुनै पनि प्रस्तावमा छलफल भएको छैन ।’
बंगलादेशका क्रिकेट बोर्ड अध्यक्ष अमिनुल इस्लाम यसअघि आइसीसीका डेभलपमेन्ट अफिसर थिए । उनी बेलाबखत नेपाल आइराख्छन् । गत वैशाखमा नेपालमा भएको यु १९ विश्वकप छनोट प्रतियोगितामा टुर्नामेन्ट डाइरेक्टर भएर आएका थिए । उनले नै नेपाल र नेदरल्यान्ड्सँग बंगलादेशले क्रिकेट सिरिज खेल्न सक्ने विषयमा बोलेको दावी गरिएको छ ।
यद्यपि प्रवक्ता लामाले कुन प्रसंगमा बोलेको हो भन्ने आफूलाई थाहा नभएको र यसबारे औपचारिक प्रस्ताव केही पनि नआएको प्रष्ट पारेका छन्