×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घोडाघोडी सिमसार क्षेत्रलाई नेपालमै पहिलोपटक 'बर्ड सेन्चुरी' बनाइने

घोडाघोडी सिमसार क्षेत्रलाई नेपालमै पहिलोपटक 'बर्ड सेन्चुरी' बनाइने

कैलाली - चरा अवलोकनका लागि प्रसिद्ध कैलालीको घोडाघोडी सिमसार क्षेत्रलाई नेपालमै पहिलोपटक चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) बनाइने भएको छ । घोडाघोडी नगरपालिकाले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र बनाउने निर्णय गरेको हो ।
नगरपालिकाको १३औं नगर सभाले सो निर्णयलाई सर्वसम्मतले पारित गरेको छ । चरा अभय आरण्य क्षेत्र भनेको भयरहीत वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने चरा संरक्षित क्षेत्र बुझिन्छ । नेपालमा अहिलेसम्म कहि पनि बर्ड सेन्चुरी बनेको छैन । चराको संरक्षण र पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ नगरपालिकाले घोडाघोडी सिमसार क्षेत्रलाई ‘बर्ड सेन्चुरी’ बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले जानकारी दिए ।

उनले नगरपालिकाले चालु आर्थिक वर्षभित्रै घोडाघोडी सिमसारलाई चरा अभय आरण्य क्षेत्र घोषणा गर्ने बताए । प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिल लगायत १२ प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् ।
कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा जलचरा ६४ प्रजातिका पाइने गरेको जनाइएको छ । बाँकी २९६ प्रजातिका चरा थलचर रहेका छन् । घोडाघोडी सिमसारलाई नगरपालिकाको पहिचान र गौरवको विषयको रूपमा चरा अभय आरण्य क्षेत्र घोषणा गरिए विश्वभरीबाट चरा अवलोकनका लागि पर्यटकहरू यहाँ आउने घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष डीआर चौधरीले बताए ।उनले विश्वमै दुर्लभ चरा प्रजातिको समेत बसोबास रहेको यो सिमसारलाई ‘बर्ड सेन्चुरी’ घोषणा गरिए घोडाघोडी क्षेत्रकै मात्रै नभएर समग्र सुदुरपश्चिम प्रदेशकै मुहार फेरिने बताए ।

प्रतिकृया दिनुहोस्