काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै प्रतिगमनकारीको संज्ञा दिएका छन् । आफ्नो कदमको बचाउ गर्दै उनले चुनावको विषयमा गरेको प्रतिबद्धताअनुसार प्रचण्ड अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गरे ।
कालिकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सकिन लागेको माओवादीलाई साथ लिएर हिँडे पनि प्रचण्डले चुनावी प्रतिबद्धताअनुसार अघि नबढेले प्रतिनिधिसभा विघटन गर्नु परेको ओलीले आरोप लगाए । ‘प्रतिनिधिसभा सधैँ बाँच्ने होइन । अहिले प्रतिनिधिसभा छ र ? यो समय समयमा चुनाव हुने हो’, उनले भने, ‘आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बास बस्न प्रचण्ड गएका छन् ।’
अोलीले आफू सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा अल्पमतमा पर्ने जान्दा जान्दै पनि वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउन प्रयास गरेको बताए । उनले अदालतमा सेटिङ गरेर विकासको काम तीव्र बनाएको आफ्नो सरकारलाई हटाइएको आरोप पनि लगाए ।