×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली विद्यार्थीलाई अमेरिकामा पौने १४ अर्ब क्षतिपूर्ति तिर्न अस्पताललाई आदेश

नेपाली विद्यार्थीलाई अमेरिकामा पौने १४ अर्ब क्षतिपूर्ति तिर्न अस्पताललाई आदेश

काठमाडौं- अमेरिकामा अध्ययनरत एक विद्यार्थीलाई पौने १४ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्न अस्पतालका नाममा त्यहाँको अदालतले आदेश दिएको छ।

अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) का अनुसार मिनियसोटास्थित सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालले अनुज थापाको शल्यक्रियामा लापरबाही गरेको ठहर गर्दै मिनियसोटास्थित अदालतले ११ करोड १० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको हो। यो रकम १३ अर्ब ७६ करोड रूपैयाँ बराबर हुन्छ।

मिनियसोटा अदालतले गत साता गरेको उक्त फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षतिपूर्ति हुनसक्ने एपीले जनाएको छ। एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरूद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए। थापा मिनियसोटाकै सेन्ट क्लाउड विश्वविद्यालयमा पढ्छन्। सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँच्चिएको थियो। त्यति बेला थापा पहिलो वर्षका विद्यार्थी थिए।

प्रतिद्वन्द्वी खेलाडीले बल खोस्ने क्रममा उनको खुट्टामा जोडले हिर्काएपछि उनी मैदानमा लडे। उनको देब्रे खुट्टामा तीव्र पीडा भयो। उनलाई तुरून्तै सेन्ट क्लाउड अस्पतालको सेन्ट्राकेयर सेन्टरमा लगियो। अस्पतालका डाक्टरले उनको खुट्टा भाँच्चिएको निष्कर्ष निकाले। त्यसपछि अस्पतालले हाडजोर्नीका शल्यचिकित्सक डा. चाड होलियनलाई डाकेर थापाको थप जाँच गरायो। डा. होलियनले थापाको खुट्टा शल्यक्रिया गर्नुपर्ने निष्कर्ष निकाले। थापाले शल्यक्रिया गर्न अस्वीकार गरेका थिए।

अस्पतालले कुरा नसुनेको उनले अदालतमा दिएको उजुरीमा उल्लेख छ। उजुरीअनुसार त्यसै रात डा. होलियनकै नेतृत्वमा उनको खुट्टा शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएको भोलिपल्ट बिहान खुट्टा सहनै नसक्ने गरी दुखेको, भित्रभित्रै जलन भएको र मांसपेसीका अन्य भागमा पनि समस्या आएको थापाले उजुरीमा भनेका छन्। तीव्र दुखाइका बाबजुद त्यसै दिन बेलुकी थापालाई अस्पतालबाट डिस्चार्ज गरियो। घर पुगेपछि उनको पीडा बल्झँदै गयो।

उनी सहेर बस्न सकेनन्। छ दिनपछि उनी फेरि अस्पताल भर्ना भए। दोस्रोचोटि अस्पताल भर्ना भएपछि हाडजोर्नी विभागकै अर्का डाक्टरले उनको जाँच गर्‍यो। जाँचपछि उनको खुट्टामा हड्डी र मांसपेसीको पुरानो समस्या रहेछ भन्ने थाहा भयो। समस्या हुँदाहुँदै शल्यक्रिया गरिएकाले बिरामीलाई अचाक्ली पीडा र थप समस्या आएको पत्ता लाग्यो। यो समस्या निवारण गर्न अहिलेसम्म थापाको खुट्टा कम्तीमा १२ पटक शल्यक्रिया गरिएको एपीले जनाएको छ।

पटकपटक शल्यक्रिया गर्दा पनि समस्या कम भएन। बरू झन् झन् बढ्दै गयो र अन्ततः उनको खुट्टा सधैंका लागि चलाउन नसक्ने भयो। उनी हिँडडुल गर्न असमर्थ भए। त्यसपछि सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालमा शल्यक्रिया गर्दा चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिक रूपले अपांगता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हाले। उनले शल्यक्रियामा भएको लापरबाहीबापत् क्षतिपूर्ति माग गरेका थिए। करिब दुई वर्ष लामो सुनुवाइपछि मिनियसोटा अदालतले थापाको पक्षमा फैसला गरेको हो।

प्रतिकृया दिनुहोस्