×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

नेप्से नयाँ बिन्दुमा, ९ अर्ब बढीको कारोबार

नेप्से नयाँ बिन्दुमा, ९ अर्ब बढीको कारोबार

काठमाडौं - सेयर बजार परिसूचक नेप्सेले नयाँ उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइबार सेयर बजार परिसूचक नेप्से २५.७१ अंकले वृद्धि हुँदा २६५७.६१ अंकको ऐतिहासिक उचाइमा पुगेको हो ।

यसअघि, गएको फागुन ६ गते २६४०.३५ अंकको उचाइ कायम गरेर झरेको नेप्सेले आइतबार उक्त रेकर्ड ब्रेक गरेको हो । आइबार बजार परिसूचकले ऐतिहासिक रेकर्ड कायम गर्दा ९ अर्ब बढीको कारोबार भएको छ । ९ अर्ब ६८ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर किनबेच भएको हो ।

आइतबार प्रि ओपनिङ सेसनमा नै करिब २६ अंकमाथिले वृद्धि भएर २६५८.३१ अंकमा खुलेको नेप्से उचार–उढावबीच इन्ट्रा डे कारोबारमा २६५८.७३ अंकको उच्च विन्दु र २६४६.०५ अंकको न्यून विन्दुको बीचमा घुमेको थियो ।

नेप्से ०.९८ प्रतिशतले बढे पनि व्यापार, होटेल तथा पर्यटन, उत्पादन, म्युचुअल फन्ड र लगानी उपसूचक भने घटेको छ । व्यापार उपसूचक सर्वाधिक ४.३९ प्रतिशत र लगानी उपसूचक २.३५ प्रतिशतले घटेको हो ।

निर्जीवन बिमा उपसूचक ३.९७ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.६६ प्रतिशत र अन्य उपसूचक ३.४१ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर उपसूचक १.५ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने ०.८१ प्रतिशतले बढेको छ ।

नेप्से ऐतिहासिक विन्दुमा पुग्दा नेपाल इन्फ्रास्ट्रकचर बैंकको सर्वाधिक ४७ करोड ५६ लाख ९९ हजारको कारोबार हुँदा अपर तामाकोसीको २८ करोड  ४१ लाख ५४ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सर्किट लाग्नेमा वोमी लघुवित्त, जनरल इनस्योरेन्स, राधि जलविद्युत् कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी, एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सान्जेन जलविद्युत् कम्पनी रहेका छन् । 
साल्ट ट्रेडिङको सेयर मूल्य साढे ४ प्रतिशतमाथिले घट्दा सपोर्ट माइक्रोफाइनान्स र जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य पनि ४ प्रतिशतमाथिले घटेको छ ।

आज कारोबारमा आएका ११० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५८ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर भएका छन् ।

प्रतिकृया दिनुहोस्