एजेन्सी - तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको छ। समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन्।
उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्। उनले भने, "हामीलाई थाहा छ लामो समयदेखि हाम्रा जनता सरकारका लागि प्रतीक्षारत छन्।"
अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन्। उनी विगतमा अमेरिकासँग दोहामा भएको शान्तिवार्तामा सहभागी हुँदै आएका थिए। मन्त्रिपरिषद् गठनलाई तालिबान सरकार स्थापनाको दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन् जो हक्कानी सञ्जालका प्रमुख पनि हुन्।
समूहका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुनेछन् भने दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम हुनेछन्।
तालिबान सरकारले शुरूमा गर्नुपर्ने काममा देशको अर्थतन्त्रलाई स्थिर बनाउनु, अन्तर्राष्ट्रिय मान्यता खोज्नु र बढ्दो मानवीय सङ्कटलाई सम्बोधन गर्नु हुनेछ।
केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए।
तालिबानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए। राजधानी काबुलमा चाहिँ उनीहरूले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेका थिए।