काठमाडौं- मुलुककै जेठो काठमाडौं महानगरको मेयर पदमा पुग्ने निश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन साहले महानगरको जिम्मेवारी बोक्न योग्य ठानेर मतदाताहरुले आफूलाई विश्वास गरेको भन्दै विश्वासमा जीत वा हार नहुने बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै बालेनले यहाँ विश्वासको कुरा भएकाले विश्वासमा जीत वा हार नहुने बताएका हुन्।
उनले भनेका छन्, ‘अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ। जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ। घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ।’
बालेनले स्थानीय तह निर्वाचन २०७९ मा मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद पनि दिएका छन्। बालेनले भनेका छन्,’यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। मेरो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला। यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरुलाई छनोट गर्नु भएको छ। हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ।’
बिभिन्न ठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिएको भन्दै उनले कोही पनि र्यालीका लागि काठमाडौं आउने दुख नगर्न अनुरोध पनि गरेका छन्। यो अभियान सबैको भएको भन्दै बालेनले यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए आफू खुसी हुने र खुशीयाली प्रकट गर्ने नै हो भने पनि आफै रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली’ गर्न अनुरोध गरेका छन्।
उनले भनेका छन्,’अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ। हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ। हामीलाई साथ र सुझाब जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरूसँग जोडिरहेका हुन्छौँ। तपाईहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ। अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडी बढौँ।’
नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै बालेन जितको नजिक पुगेका छन्।