काठमाडौं - प्रतिनिधिसभाका बहालवाला सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित भएको छ । बिहीबार अपराह्न बसेको प्रतिनिधिसभा बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
‘बीसको दशक यताका लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनहरूमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान निर्माण गर्न अहम् र नेतृत्वदायी भूमिका खेल्नुभएका मृदुभाषी, सरल, सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको छ,’ शोक प्रस्तावमा उल्लेख छ ।
विसं २००९ फागुन २८ गते जन्मिनुभएका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।
नेम्वाङ एमालेको तर्फबाट २०४८ साल र २०५२ सालमा प्रतिनिधिसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनः स्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभाको अध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति हुनुभएका दिवंगत नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।