काठमाडौं- म्यानमारको सैन्य अदालतले नेता आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ । चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको छ । उनीमाथि १९ आरोप लागेको थियो । यसबारे १८ महिना लामो अनुसन्धान–सुनुवाइ चल्यो ।
गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । तर शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको छ । बीबीसीका अनुसार एक अदालतले, सरकारका एक मन्त्रीले हेलिकोप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।
७७ वर्षीया नोबेल पुरस्कार बिजेता सुकीलाई यसअघि नै कोभिडको नियम पालना नगरेको लगायतका १४ आरोपमा दोषी ठहर गरेर सजाय सुनाइएको छ ।