पोखरा - सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट आफ्नो थातथलो नै छाडेर हिँडेका एकै परिवारका १६ सदस्य पोखरामा फेला परेका छन् । लगातार बिरामी पर्न थालेपछि धामीको सल्लाहमा गाउँ छाडेको उनीहरूले प्रारम्भिक बयान दिएका छन् ।
उर्मिला हायू सहितको उक्त १६ जनाको परिवार पोखरा महानगरपालिका–३०, गगनगौडामा भेटिएको हो । इलाका प्रहरी कार्यालय सिसुवाका प्रमुख श्रवण विकका अनुसार उनीहरू सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा सोमबार साँझ फेला परेका थिए ।
"परिवारका सदस्यहरू पालैपालो बिरामी हुने, केटाकेटीहरूलाई सञ्चो नहुने समस्या बढेपछि धामीलाई देखाइएको थियो," प्रहरी प्रमुख विकले भने, "धामीले पनि उक्त घरमा नबस्न सल्लाह दिएकाले थातथलो छाडेर आएको उनीहरूले बताएका छन् ।"
प्रहरीले आफन्त र स्थानीय जनप्रतिनिधिको रोहबरमा उनीहरूलाई हाल सोही भाडाको कोठामा बस्ने व्यवस्था मिलाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।