काठमाडौँ - जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली भिसा बनाई अमेरिका लैजाने भन्दै ललाई फकाई युवतीलाई विवाह गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
अमेरिकाको प्रलोभन देखाउँदै थरसमेत ढाँटेर अन्तरजातीय विवाह गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीका २४ वर्षीय सुदिप कार्की ढोली रहेका छन्। उनले स्टाफ नर्स पढ्दै गरेकी युवतीलाई अमेरिका जाने भिसा लागेको भन्दै विभिन्न प्रलोभनमा पारेर बिहे गरेका थिए। दलितभित्रको कार्की ढोली भएता पनि उनले थर लुकाउने गरेको प्रहरीले जनाएको छ। प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रसाद गौतमले केटीका आफन्तले केटो कार्की नभएर दलित भित्रको कार्की ढोली भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए।
कार्की ढोलीले अमेरिकाको भिसासमेत नक्कली बनाएर केटीलाई देखाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अहिले केटीलाई अभिभावकको जिम्मा लगाएको छ। आरोपित कार्की ढोलीलाई भने सोमबार अभद्र ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।