काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरूको बैठक शुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायत विषयमा राय लिन पौडेलले संस्थापतइतरका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् ।
यही छलफलको आधारमा दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा धारणा राख्ने तयारी पौडेल पक्षले गरेको छ । बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला उपस्थित भएका छन् । नेता शेखर कोइराला र प्रकाशमान सिंह भने भेलामा उपस्थित भएका छैनन् ।
केन्द्रीय सदस्य एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्य, तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावललगायतका नेताहरू सहभागी छन् ।