×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नयाँ सरकार बन्नुलाई ठूलो सफलता मानेका छैनौँ : ओली

नयाँ सरकार बन्नुलाई ठूलो सफलता मानेका छैनौँ : ओली

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले काँग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको अगुवाइमा देशमा नयाँ सरकार बनेको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नो पार्टीले ठूलो सफलता वा प्रतिष्ठाका रूपमा नलिएको बताएका छन्।

दोलखाको भीमेश्वर नगरपालिकाबाट देशदर्शनका लागि काठमाडौँ आएका ८० वर्षमाथिका ४० जना वृद्ध–वृद्धाहरूको समूहलाई सोमबार आफ्नो निवास बालकोटमा स्वागत तथा सम्मान गर्दै ओलीले त्यस्तो बताएका हुन्। 

‘ठूलो षडयन्त्रमार्फत गठबन्धनबाहिर पारेर एमालेलाई सिध्याउन खोजिएको थियो, त्यस्तो षडयन्त्रमा दौडिनेहरू, कुदाकुद गर्नेहरू आफैँ थाके र देशको राजनीतिक स्थितिमा पनि परिवर्तन आएको छ,’ ओलीले भने, ‘सूर्य उदाउँदा पनि रातै भएर उदाउँछ, अस्ताउँदा पनि रातै भएर अस्ताउँछ, सफल भइयो भनेर हामी मातिएका छैनौँ, असफल भयौँ भने पनि हामी आत्तिँदैनौँ। एमाले सधैँ एउटै लयमा हुन्छ, सधैँ देश र जनताको चिन्तासहित खुसीका लागि अघि बढिरहन्छ।’

आफू ५७ वर्षदेखि निरन्तर देशमा परिवर्तन ल्याउन राजनीतिमा क्रियाशील रहेको भन्दै ओलीले बच्चादेखि वृद्धवृद्धासम्मको स्नेह र आशीर्वादले देश र जनताको सेवाका लागि प्रेरणा तथा ऊर्जा मिलिरहेको बताए। 

त्यस अवसरमा ९४ वर्षीय वृद्धा विष्णुमाया खड्का र भीमेश्वर ५ का वडाध्यक्ष बासु श्रेष्ठले ओली र उनकी धर्मपत्नी राधिकालाई महांकाल मन्दिरको प्रसाद प्रदान गरेका थिए। 

ओलीले वृद्धवृद्धाहरूको समूहलाई दोसल्ला ओढाएर तथा फलफूल खुवाएर स्वागत र सम्मान गरेका थिए। वडाध्यक्ष श्रेष्ठको संयोजन र जेष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्कीको व्यवस्थापनमा देश-दर्शनमा आएका उनीहरूले पशुपतिनाथको दर्शन पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्