×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

युक्रेन युद्धः युद्धविराम र मानव निकासमार्ग के हुन् ?

युक्रेन युद्धः युद्धविराम र मानव निकासमार्ग के हुन् ?

युक्रेन र रुसबीच भइरहेको युद्धका क्रममा युद्धविराम र मानव निकासमार्गको चर्चा भएका छन् । रुसले युक्रेनी नागरिकलाई सुरक्षित स्थानमा जान युद्धविराम गर्दै निकासमार्ग खोलेको बताइरहेको छ । युक्रेनले भने रुसले युद्धविराम पालना नगरेको र निकासमार्ग रुस या बेलारुससम्म मात्रै खोलेको आरोप लगाइरहेको छ । रुस–युक्रेनबीच बिहीवार भएको शान्तिवार्तामा पनि युद्धविराम र मानव निकासमार्गको विषय थियो ।

युद्धविराम के हो ?
युद्धविराम लडाइँ रोक्नको लागि द्वन्द्वमा संलग्न पक्षहरूबीच गरिने अस्थायी सम्झौता हो । प्रायः शान्तिवार्ता गर्न वा नागरिकहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नका लागि यो प्रक्रियामा गइन्छ । दक्षिणी युक्रेनी बन्दरगाह सहर मारिओपोलमा धेरै पटक युद्धविरामका प्रयासहरू भएका छन् । मार्च ५ पहिलो युद्धविराम घोषणा गरिएको थियो जसको उद्देश्य खाद्यान्न, पानी र चिकित्सा सामग्री जस्ता अत्यावश्यक वस्तुहरू सकिएकाहरूलाई बाहिर निस्कन दिनु थियो। तर त्यो युद्धविराम धेरै समय टिकेन ।

मानव निकासमार्ग भनेको के हो ?

मानव निकासमार्ग अस्थायी बाटो वा क्षेत्र हो जसमार्फत द्वन्द्व क्षेत्रहरूबाट आमनागरिक वा गैरसैनिक सुरक्षित रूपमा निकाल्न वा बाह्य मानवीय सहायताका लागि अनुमति दिइन्छ । बोस्निया र सिरियाजस्ता देशहरूमा मानव निकासमार्गको प्रयोग भएको थियो । अधिकांश अवस्थामा यस्ता मार्गहरूबारे द्वन्द्वमा संलग्न दुवै पक्षहरू र संयुक्त राष्ट्रसङ्घ वा रेडक्रस जस्ता मध्यस्थकर्ताहरूमार्फत वार्ता हुन्छ ।

शरणार्थी व्यवस्थापन प्रक्रिया अन्तर्गत “दुवै पक्षहरूसँग कैयौँ दिनको लामो छलफलपश्चात् सटिक र कार्यान्वयन गर्न सकिने सम्झौता हुन्छ“ रेडक्रसको अन्तर्राष्ट्रिय समितिका सञ्चालन निर्देशक डोमिनिक स्टिलहार्टले कार्यक्रम ’टुडे’लाई भने ।

“हामी आवश्यक स्थलमा रहन र सम्झौता कार्यान्वयनमा सहजीकरण गर्न यी सबै विवरणहरू दुवै पक्षको सैन्य वार्ताबाट सहमतिमा आउन आवश्यक छ,” उनले थपे ।

के ती मार्गको अभ्यास सफल भएको छ ?

मानव निकासमार्ग वा ’मानव कोरिडोर’हरूको सफल सञ्चालनको प्रयासमा केही समस्याहरू देखिएका छन् । “दुवै पक्षलाई ’निश्चित, व्यावहारिक र सटिक’ सम्झौतामा ल्याउनु नै प्रमुख चुनौती हो,“ स्टिलहार्टले भने ।

“युक्रेनमा हालसम्म सैद्धान्तिक सम्झौताहरू मात्र भएको देखेका छौँ । ती धेरै बेर टिकेका छैनन्। किनकि ती सम्झौताहरूमा सटिकता, मार्गहरूको जानकारी, मानिसहरूको आवतजावत र खाद्यान्न भित्र्याउनेबारे जानकारी थिएन ।”
अस्पष्टताकै कारण सहायता निकायहरूले अत्यावश्यक ठाउँमा पनि मानवीय सहयोग पु¥याउन नसकेको बताए ।

“मारिओपोलमा हाम्रो समूह छ । सम्झौतामा के छ भन्ने कुरा प्रस्ट नभए पनि आइतवार समूहका केही कर्मचारी त्यहाँबाट निस्किनका लागि हिँडे । तर उनीहरू पहिलो सुरक्षा नाका पुग्ने बित्तिकै ’पूर्व निर्धारित मानव निकास मार्ग’मा विस्फोटक पदार्थ राखिएको उनीहरूलाई थाहा भयो ।”

सुरक्षित मानव निकास मार्गले कहाँ पु¥याउँछ ?
संयुक्त राष्ट्रसङ्घका अनुसार युद्ध सुरु भएदेखि २० लाखभन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेका छन् । मानिसहरू मुख्यतया रुसबाट टाढा पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रुमेनिया र मोल्डोभा जस्ता पश्चिमी छिमेकी देशहरूमा पुगेका छन् ।

घोषणा गरिएको सुरक्षित निकासमार्ग राजधानी किएभबाहेक खार्किभ, मारिओपोल र सुमी सहरहरूमा छन् ।

प्रतिकृया दिनुहोस्