काठमाडौं - आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। साइबर ब्युरोको अनुरोधमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले वाइबालाई पक्राउ गरिएको पुष्टि गर्नुभयो। उहाँका अनुसार, काठमाडौंस्थित साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गतको एक मुद्दामा अनुसन्धानका लागि वाइबालाई पक्राउ गर्न पत्राचार गरेको थियो।
"साइबर ब्युरोको पत्र र निर्देशनका आधारमा हामीले उहाँलाई नियन्त्रणमा लिएका हौं," डीएसपी बस्नेतले भने।
पक्राउ परेकी वाइबालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि काठमाडौंस्थित साइबर ब्युरोमा पठाइसकिएको प्रहरीले जनाएको छ। वाइबा सामाजिक सञ्जालमा विभिन्न विषयमा दिने अभिव्यक्तिहरूका कारण पटक-पटक विवादमा आउने गरेकी छन्।