×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग लुम्बिनी १३१ रनले पराजित

प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग लुम्बिनी १३१ रनले पराजित

 बसिर अहमदको अर्धशतक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा आइतबार भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनको फराकिलो अन्तरले हराउँदै उपाधितर्फ अग्रसर देखिएको हो ।
           जारी प्रतियोगितामा आर्मीको यो सातौं जित हो । जितका लागि आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा अलआउट हुँदै ११२ रनमा समेटियो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । मनीष थापा र बिप्रसन केसीले समान १३/१३ रन बनाएर आउट भए ।
              यस्तै, नर सार्कीले १२, निर्मल गुरुङले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न आर्मीका शाहब आलमले सर्वाधिक चार विकेट लिए । आलमले ९.१ ओभर बलिङ गर्दै २ मेडन राखेर २५ रन खर्चिए । नरेन साउदले २ विकेट हात पार्दा सोमपाल कार्मी, आकाश चन्द, बसिर अहमदको नाममा एक/एक विकेट रह्यो ।
      त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४३ रनको योगफल तयार पारेको थियो । आर्मीको जितमा बसिर अहमद नायक बने । उनले १०४ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ८६ रनको योगदान गरे । बसिर प्लेयर अफ द म्याच घोषित भए ।
     भीम सार्कीले ४४, ओपनर तृतराज दासले ३१, सोमपाल कामीले २८ र कुशल मल्लले १७ रन बनाए । बलिङमा लुम्बिनीका अजय चौहान एक्लैले चार विकेट लिए । १० ओभर बलिङ गरेको चौहानले ४७ रन खर्चिए । कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रसन केसी, नर सार्की र कप्तान देव खनालले समान एक–एक विकेट हात पारे । यो नतिजासँगै उपाधि दाबेदार आर्मी १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
     समान १४ अंकका साथ अर्को विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ । नेट रनरेटका आधारमा आर्मी दोस्रोमा रहृयो । पराजित लुम्बिनी प्रदेश भने ८ अंकका साथ तालिकाको पाँचौँ स्थानमा यथावत रहेको छ । लुम्बिनीले खेलेका ८ मध्ये चारमा जित र चारमा हार व्यहोरेको छ ।

प्रतिकृया दिनुहोस्