काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि साढे दुई करोड मागेको र त्यसको व्यवस्थापनका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग माघ १ गते गरेको कुराकानी सार्वजनिक भएको छ ।
जहाँ श्रेष्ठले पार्टीले साढे २ करोड मागेको तर २ करोडमा मान्ने सम्भावना रहेको बताएका छन् । उनले मन्त्री बन्नुअघि १ करोड रुपैयाँ बुझाए पनि हुने र बाँकी चेक दिए हुने भनेका छन् । उनले उधारो भने नमान्ने भन्दै प्रसाईंसँग पैसा मागेका छन् ।
'कपुरबोट टीभी' ले सार्वजनिक गरेको अडियो वार्तालाप यसप्रकार छ-
दुर्गा प्रसाईं - नमस्ते, के छ नि हालखबर ?
ढाकाकुमार श्रेष्ठ - ठिक छ सर । म नि भर्खरै उठेको ।
प्रसाईं - ए, त्यै त म नि ! राति, मैले पनि फोन अफ गरेँ । फोन अफ भनेको सुत्ने टाइम भयो होला, फोन चार्जमा पनि राखेको । के भने नि खास्सै कुरा के हो ? मलाई भन्नुस् त डक्टर साप !
श्रेष्ठ - स्वास्थ्य हामीले पाउने भयो । पार्टीलाई अलिकति सहयोग गर भनेर आन्तरिक तरिकाले कोर टीम छ दुई-तीन जनाको तिनीहरूले भनिरहेका छन् । मलाई दुई जति चाहियो, साढे दुई जति चाहियो भन्दैथिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । त्यो आज मैले फिक्स गर्नुछ दाइ, सर । अलिकति आर्थिकमा म त्यस्तो पनि छैन । मन्त्री पनि बन्नुपर्योे । अब यो धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सुधार पनि गर्नुछ । मैले धेरै गर्छु भनेर सोचे गरेको छु । अब त्यसमा हजुरहरूको सपोर्ट सहयोग चाहियो ।
प्रसाईं- एउटा कुरा बुझ्न खोजेको । डक्टरसाप मैले त स्वतन्त्र पार्टीमा डाक्टर भनेको हाम्रो तोसिमा कार्की मात्रै छिन् भनेर बुझ्या थिए त ?
श्रेष्ठ - होइन हामी तीन जना छौं ।
प्रसाईं- को को हुनुहुन्छ ?
श्रेष्ठ - म भए, तोसिमा भयो, अनि चन्दा कार्की
प्रसाईं - साँच्चि चन्दा म्याम पनि पो हुनुहुन्छ त है । डाक्सापको घर चाहिँ कहाँ हो ?
श्रेष्ठ- मेरो पोखरा हो सर ।
प्रसाईं - ए, अनि एमबीबीएस कहाँ गरेको तपाईंले ?
श्रेष्ठ - मैले चाइनामा ।
प्रसाईं - अनि एमडी ?
श्रेष्ठ - एमडी मैले गरेको छैन । म एमएस मात्रै हो । पछि यता अर्कैतिर पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ ।
प्रसाईं - अब हेर्नुस् है, धेरै ठूलो समस्या छ स्वास्थ्यमा, हैन डक्टरसाप । देशमा भएका नर्सिङ क्याम्पस बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । मैले त जहिले भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलीबेटीले डान्स गर्नुभन्दा नर्स पठाउँ । हो कि होइन ?
श्रेष्ठ - हो नि त ।
प्रसाईं - मैले त डक्टर उत्पादन गरौं बरु १०० वटा मेडिकल कलेज खोलौं विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ पढाउँ…
श्रेष्ठ - हो नि त ।
प्रसाईं - हस्पिटल फ्री गरौं । कति राम्रो कुरा गरेको मैले…
श्रेष्ठ - हो नि ।
प्रसाईं - त्यस्तो छ । डक्टरसापको नाम चाहिँ ढकबहादुर के हो ?
श्रेष्ठ - ढाकाकुमार श्रेष्ठ ।
प्रसाईं - ढाकाकुमार श्रेष्ठ, आच्छा ! मैले त्यो कुरो बुझेँ । सल्लाह गरेर अघि बढौंला । अनि फेरि तपाईंसँग एउटा कुरा भन्न खोजेको । हामी त ह्वाट्सएपमा छौं केही मतलब भएन । अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ।
ढाका - स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यति थाहा छैन सर यो । आन्तरिक कुरा हो । मुकुलजी पनि कोर टीममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुईतीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टीमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।
प्रसाईं - क्यास अढाइ करोडको कुरा । दुई करोड ?
श्रेष्ठ - दुई, साढे दुई भनेका छन् । मैले अहिले १ दिए भनेपनि मान्छन् होला । पछि चेक दिए पनि मान्छन् दुई तीन दिनको ।
प्रसाईं- फेरि आज बन्द छ नि त ! आज बन्द छ । फेरि ९ लाख ९९ हजारभन्दा माथिको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर म दिन्छु । तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।
श्रेष्ठ - हैन, त्यो त म गर्छु । मलाई त यो दिक्क लाग्छ गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो लाग्छ मलाई त। पुरै जेनेरेसन पढ्न नपाएको पनि तिनले गर्दा हो ।
प्रसाईं- मैले मेरो छोरीलाई जापान पठाउनुपर्यो त्यो टोकियो युनिभर्सिटीमा ३ करोड तिरेर एमडी गर्नलाई । यहाँ आफ्नोमा छ रेडिएसन अंकोलोजी, पढाउन पाइनँ भैले ।
श्रेष्ठ - त्यै त यो सबै बेथिति छ ।
प्रसाईं - मेरो त हेर्नुस् न म त कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा । ल भन्नुस् त ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नुस् त ? म त मर्न मात्रै बाँकी छ।
श्रेष्ठ - त्यै त ! यो हटाउनपर्छ सर यस्ता कुराहरू । यो समस्या समाधान गर्नुपर्छ ।
प्रसाईं - अनि शिक्षा चाहिँ कसले लिने भएछ सर भाइ ? ... शिक्षा चाहिँ कसले लियो डक्टरसाप ।
श्रेष्ठ - शिक्षा हामीलाई परेन जस्तो छ सर ।
प्रसाईं - शिक्षा हाम्रा हजुरबुबाले राखे होलान् ।
श्रेष्ठ - सायद राखे होलान् शिक्षा
प्रसाईं- किनभने मलाई यसपाली एफिलिएसन पनि दिनुपर्नेछ कि हजुरबुबाले । सबै कुरा सकिएको छ । काठमाडौं युनिभर्सिटी एफिलिएसन दिएको छ । संख्या मात्रै तोकिदिएको छैन । त्यो त नारायणकाजीको मान्छे हो नि त गिरि । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्यो ! ल यसो गर्नुस् त ...
श्रेष्ठ - निश्चिन्त हुनुस् काम मिलेर गर्ने हो, तपाईं म ।
प्रसाईं - एकछिन एकछिन । यहाँ सुन्नुस् । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ २ गते । आज त छुट्टी भइगयो । म भोलि बेलुका हजुरबुबासँगै काठमाडौं आउँछु । भोलि बेलुका भेटुँला । तपाईंको ग्यारेन्टी गर्नुस् । अब तपाईंलाई मैले गर्ने सहयोग गर्छु । तपाईंले जुन भन्नुभयो नि दुई, म आएर गरौंला । तर अलिकति टाइम लाग्छ है । पैसा मिलाएर निकाल्नुपर्छ । त्यत्तिकै हचुवामा निक्लिँदैन । अहिले त बैंकले जम्मै सिस्टम खोज्छ । त्यति सजिलो हुँदैन । भकभक बाकसमा पैसा ल्याएर गाह्रो छ । कुरो बुझ्नुभयो के ? त्यो कसैले पनि दिन सक्दैन आजको आजै पैसा । नेपालमा कसैले सक्दैन ।
श्रेष्ठ- त्यै त ।
प्रसाईं - हिजो पुस मसान्त । हिजो ब्याज बुझाइयो ।
श्रेष्ठ - हजुरलाई नि साह्रै गाह्रो छ होला है विचरा ।
प्रसाईं - गाह्रो छ नि ! मैले त हिजो पुस मसान्त ब्याज बुझाए । मेरो स्वास्थ्य बीमाको पैसा १४/ १५ करोड पैसा अझै दिएन स्वास्थ्य बीमाले अढाइ वर्षदेखि ।
श्रेष्ठ - बीमा पनि १२ अर्बको लगानी हुँदो रहेछ नेपालमा । बीमा पनि सबैतिर लागु गर्नुपर्नेछ ।
प्रसाईं- बीमा कसरी लागु गर्ने म भनिदिन्छु हैन । तपाईंले एउटा कुरा के ग्यारेन्टी गर्नुस् भने म २ करोड दिने भए तपाईंलाई । यो पैसा पनि तपाईंले उही रवीलाई पनि बुझाउनुपर्ला नि त हैन ? भोलि पर्सी ।
श्रेष्ठ - अँ । मैले रवीसरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन ।बाहिरको दुई तीन जना साथीहरू हुनुहुन्छ । उहाँहरूलाई दिने हो । पार्टीलाई जान्छ भनेका छन् के रे ।
प्रसाईं - पार्टीमा पनि सबै कमाउनेकै हुन् नि भाइ ।
श्रेष्ठ - कसरी गर्छन् थाहा छैन । पार्टीमा जान्छ कि जान्न त्यो पनि मलाई थाहा छैन । सोधेकै छैन के । पार्टी कमजोर छ । सुरुवाती क्षण पनि छ । साह्रै गाह्रो छ भन्या छन् ।
प्रसाईं- ल सर म भोलिबेलुका नभए पर्सी आउँछु अनि दाजुभाइ भेटुँला नि त । तपाईंले ग्यारेन्टी गर्नुस् म दिन्छु भनेर । तर मलाई अलिकति टाइम चाहियो भन्नुस् ।
श्रेष्ठ - अँ हुन्छ। म त्यै कुरा गर्छु सर । हजुर भोलि आउनुहन्छ बेलुका ?
प्रसाईं - अँ म भोलि बेलुका । हजुरबुबा आउने भएर बस्नुपर्छ कि । अनि म भोलि आउँछु । है डक्टरसाप ।
श्रेष्ठ - ल तपाईं म सबै के के गर्नुपर्छ सल्लाहले ।
प्रसाईं- मैले तपाईंले एउटा कुरो के ग्यारेन्टी गरे भने दूई करोड दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । म आएर मिलाइदिन्छु । त्यसमा पीर नगर्नुस् उनीहरूसँग टाइम माग्नुस । म दिन्छु भनेर भन्नुस् सकियो कुरा । तपाईं र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन गर्नु नि पर्दैन । तपाईंलाई म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ । दुई करोडको म ग्यारेन्टी दिन्छु । तपाईं पीर नगर्नुस् अघि बढ्नुस् है । अनि तोशिमाले फेरि लडाइँ त गर्दिनन् नि ? तोसिमा कार्कीले तपाईंसँग ?
श्रेष्ठ - गर्दिनन्, गर्दिनन् । केही समस्या छैन । त्यै टीमले गरेपछि सकियो । रवि सरलाई म्यान्डेट दिएका छौं । उहाँले जसलाई राख्नुभयो भयो । ।
प्रसाईं - फेरि तोसिमाले पैसा निकाल्न पनि सक्दैनन् । तोसिमाले पैसाको कुरा गर्न पनि सक्दैनन् किन भन्नु न गोविन्द केसीको मान्छे भन्छन् । उसले कहीँ कुरै गर्न मिल्दैन । उसँग डराउँछन् ।
श्रेष्ठ- तिनी मन्त्री भइन् भने पनि काम पनि छैन । केही छैन ।
प्रसाईं - हस् ! हस् भाइ ! हस् डक्टरसाप ।
श्रेष्ठ - हस् नमस्कार ।