अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको बताएका छन् । एक वक्तव्य जारी गर्दै ट्रम्पले पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर “एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको” उल्लेख गरेका छन् ।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको उल्लेख गरेको छ । गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको विषयमा पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।
ट्रम्पको प्रतिक्रिया
सोमवार छापा मारिएको समयमा ट्रम्प न्यूयोर्कस्थित ट्रम्प टावरमा रहेको सीएनएनले उल्लेख गरेको छ । “यो हाम्रो देशको लागि कालो समय हो,” ट्रम्पले विज्ञप्तिको सुरुमा भनेका छन् ।
आफूले सबै सरकारी निकायसँग समन्वय गरेको दाबी गर्दै उनले “बिना पूर्वजानकारी गरिएको छापा अनावश्यक र अनुचित भएको” उल्लेख गरेका छन् ।
ट्रम्पले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्नबाट आफूलाई रोक्न “न्याय प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिएको” आरोप लगाएका छन् ।
“यस्तो आक्रमण तेस्रो विश्वका देशमा मात्र हुन्छ,” ट्रम्पले भनेका छन् ।
“दुःखको कुरा अमेरिका पनि यस्तै देश भएको छ र यसअघि कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट भएको छ ।” “उनीहरूले मेरो सेफ पनि फुटाए ।” सीबीएस न्यूजले राष्ट्रिय अभिलेखालयको विवरणसँग सम्बन्धित अनुसन्धानमा ट्रम्पको घरमा छापा मारिएको पुष्टि गरेको छ ।
ट्रम्पका वरिष्ठ सल्लाहकारले ट्रम्प निवासमा मारिएको छापा राष्ट्रपतीय अभिलेखसँग सम्बन्धित रहेको सीबीएससँग बताएका छन् । स्रोतहरूले छापा मार्ने क्रममा एसबीआईले थोरै मात्र जानकारीहरू प्राप्त गरेको दाबी गरेका छन् ।
किन मारियो छापा ?
अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो ।
अमेरिकी राष्ट्रपतिले सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेलसमेत राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।
तर अधिकारीहरूले पूर्वराष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा धेरै कागजपत्र लिएर गएको आरोप लगाएका छन् ।
तर ट्रम्पले यस्तो आरोपको खण्डन गर्दै यसलाई मिथ्या समाचार भनेका छन् ।
ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले ट्रम्पको घरमा छापा मार्ने योजनाबारे राष्ट्रपति कार्यालयलाई पनि जानकारी नदिइएको बताएका छन् ।
ह्वाइट हाउसका अधिकारीहरूले पनि “सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट“ मात्र छापाबारे थाहा पाएको ती अधिकारीले दाबी गरे ।
जो बाइडनको कार्यालयले न्याय सम्पादन राजनीतिक दबावमुक्त राख्न न्याय मन्त्रालयका उच्च अधिकारीहरूसँगको संवाद नियन्त्रित गरिएको जनाएको छ ।
ट्रम्पले राष्ट्रपतीय निर्वाचनका दौरान आफ्नो कामकाजमाथि प्रश्न नउठ्ने गरी काम गर्ने वाचा गरेका थिए ।
बाइडनका छोरा पनि छानबिनमा
सङ्घीय अभियोजनकर्ताहरूले कर छली लगायतका आरोपमा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको छोरा हन्टर बाइडन संलग्न भए वा नभएको अनुसन्धान गरिरहेका छन् ।
ट्रम्पमाथि भने बाइडन राष्ट्रपतिमा निर्वाचित भएपछि उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा गरेको तोडफोड र हिंसाबारे अनुसन्धान भइरहेको छ ।
अमेरिकी सांसदले गठन गरेको समितिका सदस्यहरूले ट्रम्पमाथि अभियोजन गर्न सकिने धारणा राखेका थिए ।
अमेरिकी न्याय मन्त्रालयले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाममाथि चुनौती दिएको विषयमा ट्रम्पमाथि छानबिन भइरहेको जनाएको छ ।