काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको छ ।
बिहीबार काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तहका कमिटीलाई चैत मसान्तभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार सम्बन्धित कमिटीले एक महिलासहित तीन जना प्रत्याशीको नाम सिफारिस गरी माथिल्लो कमिटीमा पेस गर्नुपर्नेछ । यसरी सिफारिस भई आएको प्रत्याशीको नाममा माथिल्लो कमिटीले टंगो लगाउनेछ ।
उम्मेदवार सिफारिस गर्न वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख-उपप्रमुखको हकमा गाउँ-नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर- महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरूको सिफारिसमा जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने उपप्रमुख रिजालले बताए ।
बैठकले उम्मेदवार सिफारिस र चयनबारे ६ वटा प्रारम्भिक मापदण्ड तय गरेको छ । उम्मेदवार सिफारिस गर्दा यी मापदण्ड अनिवार्य रूपमा लागू गर्नुपर्ने हुन्छ । पार्टीको मापदण्डलाई ध्यान दिँदै उम्मेदवारको सिफारिस गर्दा सन्तुलन र समावेशी हुने गरी सिफारिस गर्नुपर्ने हुन्छ ।
उपप्रमुख रिजालका अनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुन पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिको कामको मूल्याङ्कनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एवं सुशासन र विकासप्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउनेगरी मापदण्ड तय भएको छ ।
यसैगरी, बैठकले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय भएको छ । सो समितिमा नेताहरू युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, प्रभु साह, देवेन्द्र दाहाल, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली रहेका छन् ।
यो समितिले स्थानीय तह निर्वाचन घोषणापत्र तयार गरिसकेपछि आगामी वैशाख ९ गते सार्वजनिक गरिनेछ । साथै स्थानीय तहमा उम्मेदवारले समेत आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्न सक्ने रिजालले बताए । यसैगरी, बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै विभाग गठन, बाँकी रहेका नेताहरूको जिम्मेवारीसमेत टुंगो लगाएको छ । –राजधानी दैनिकबाट