काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्टेट पार्टनसिप प्रोग्राम ९एसपीपी० बारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । संसद दिवसको अवसरमा नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ औँ दिनमा सेनाबाट अमेरिकालाई पत्र लेखिएको खुलेको तर, उक्त चिठीबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई कुनै जानकारी नभएको बताए ।
उक्त पत्र यतिकै झुन्डिएर बस्न नहुने नेम्वाङले बताए । ‘हामी जिम्मेवार दल भएको ठाउँमा किन यतिकै झुन्डिएर बसेको छ । त्यतिबेला सेनाले चिठी लेखेको रहेछ । पछि पनि गएको देखिन्छ,’ उनले भने, ‘त्यो सम्पूर्ण चिठी रक्षा मन्त्रालय र सेनासँग छ । त्यो सबै चिठी संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू ।’
कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेका पुराना स्वर्गीय नेता मनमोहन अधिकारीले कुनैपनि संसद बैठक नछाड्ने गरेको स्मरण गरे ।