×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी

४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी

कावासोती- पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर ४७ वर्षदेखि भाडाको घरबाट सञ्चालन भइरहेको छ । जिल्लाको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको प्रहरी कार्यालयका प्रहरीले वर्षौंदेखि भौतिक संरचनाको असुविधा खेप्दै आएका छन् । 

विसं २०३२ मा स्थापित प्रहरी कार्यालयले आफ्नै भवन नहुँदा अहिलेसम्म पनि भाडाको घरबाट नै सेवा प्रवाह गरिरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख करमुल्ला धोबीले जानकारी दिनुभयो । मासिक चार हजार तीन सय तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आए पनि सामान्य घटनामा २४ घण्टा नियन्त्रणमा राख्नुपर्ने अवस्था आउँदा थुनुवालाई जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने बाध्यता रहेको धोबी बताउनुहुन्छ ।

“कूल १७ जनाको दरबन्दी रहेको प्रहरी कार्यालयमा थुनुवा कक्ष मात्रै होइन सामान्य आधारभूत आवश्यकताका सुविधा पनि छैनन्, प्रहरी कार्यालयका प्रहरी कर्मचारी र थुनुवाले सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सोलारले काम नगर्दा अन्धकार हुन्छ, खानेपानीको समस्या छ, कार्यालय, भान्छा कोठा, सुत्ने कोठा एकै ठाउँबाट चलाउनुपर्ने अवस्था छ ।”

भाडाको भए पनि प्रहरी कार्यालयको छानाबाट हिउँदमा पर्ने शीतसमेत चुहिन लागेपछि त्रिपाल हालेर छोपिएको उहाँले जानकारी दिनुभयो । शान्तिसुरक्षा दिने प्रहरी नै भौतिक संरचनाका दृष्टिले असुरक्षित रहेका छन् । प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा असर परेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बता

नुभयो । प्रहरी कार्यालयका लागि भवन निर्माण गर्न गाउँपालिकाको समन्वयमा राजनीतिक दल र स्थानीयवासीको सहमतिसहित अहिलेको भाडाको घर भए नजिकै जग्गा व्यवस्थापन गरेर गृह मन्त्रालय पठाइएको तिवारीले बताउनुभयो । बाध्यता भएका कारण जीर्ण वा असुरक्षित संरचनामै बसेर पनि कर्तव्य पूरा गरिरहेको बताउँदै उहाँले भवनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएकाले छिट्टै प्रहरी चौकीको आफ्नै भवन हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिकृया दिनुहोस्