×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

यसरी रोकियो मन्त्रिपरिषद विस्तार !

यसरी रोकियो मन्त्रिपरिषद विस्तार !

काठमाडौँ-सत्तारुढ गठबन्धन दलहरुले मन्त्री बन्नेहरुको नामावली छान्न नसक्दा मन्त्रिपरिषद विस्तारमा रोकावट आएको छ । गठबन्धन दलकका शिर्ष नेताहरुले मन्त्रालय बाँडफाँड टुङ्ग्याएपनि आफ्नै दलभित्रबाट मन्त्री छान्न नसक्दा मन्त्रिपरिष विस्तारमा रोकावट आएको हो । गठबन्धन दल मध्येको एक नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएपनि अन्य दलहरु मन्त्री छान्न नसक्दा सकसमा परेका छन् । मन्त्रालयको भागबन्डा मिलिसके पनि मन्त्री क–कसलाई बनाउने भन्नेमा कांग्रेस, जसपा र नेकपा एस भित्र कुरा मिलिसकेको छैन । जसका कारण हिजो बेलुका वा आज विहानै मन्त्रिपरिषद विस्तार हुने र सपथग्रहण लिने भन्ने विषय ओझेलमा पर्यो ।

सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले पनि अहिलेसम्म क–कसलाई मन्त्री बनाउने हो टुङ्गो लगाउन सकेको छैन । यद्यपी यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री भइसकेका छन् । पार्टीले पाएको भागमा बाँकी मन्त्री बनाउन प्रधानमन्त्री शेर बहादुर देउवाले कसरत गरिरहेका छन् ।

उनले आफूनिकट बालकृष्ण खाणलाई गृह मन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइसकेका छन् । पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेट्नुपर्ने दवावमा देउवा छन् । यसबारे देउवाले बुधबार बालुवाटार बोलाएर पार्टीभित्रका शीर्ष नेतासँग कुराकानी गरेका थिए । देउवाले पौडेल, महामन्त्री शशांक कोइराला र सिटौलालाई एकेक मन्त्रालयमा मन्त्री हुनेको नाम दिन भनेका छन् । तर कसैलेपनि मन्त्री बन्नेको नाम दिन सकेका छैनन् ।

कांग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार, सूचना तथा प्रविधि, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकूद मन्त्रालय परेको छ । नेकपा एसले पनि मन्त्री हुनेहरूको नाम प्रधानमन्त्री देउवालाई दिन सकेको छैन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम तथा रोजगार सामाजिक सुरक्षा, सहरी विकास र कानुन मन्त्रालय यो पार्टीले लिने भएको छ । जसका कारण अझै पनि मन्त्रिपरिषद विस्तार हुन सक्ने छाँट देखिंदैन ।

त्यस्तै सत्तारूढ अर्को दल जनता समाजवादी पार्टी जसपाले पनि मन्त्री छान्न सकेको छैन । जसपाले अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत शीर्ष नेतालाई मन्त्री छान्ने अधिकार दिएपनि उनीहरूले मन्त्री क–कसलाई बनाउने भन्नेबारे टुंगो लगाउन सकेका छैनन् ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ । माओवादीले मन्त्री बन्नेहरूको नाम टुंग्याए पनि कसलाई कुन मन्त्री बनाउने भन्ने टुंगिन बाँकी छ । माओवादीले अब शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालय मन्त्रालय लिने भएको छ । सत्तारूढ गठबन्धनले मन्त्री हुनेहरूको नाम छान्न ढिलाइ गरेका कारण अझै केही दिन मन्त्रिपरिषद विस्तार हुन समय लाग्ने देखिएको प्रधानमन्त्री निकट एक नेताले बताए ।

प्रतिकृया दिनुहोस्