काठमाडौं - आफ्नो व्यक्तिगत फोन नम्बर फिल्ममा अनुमतिबिना प्रयोग गरिएको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र ‘फर्की फर्की’ फिल्मको निर्माण टोलीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। फिल्ममा आफ्नो नम्बर प्रयोग हुँदा अनावश्यक फोन र सन्देशले आफूलाई मानसिक तथा शारीरिक रूपमा क्षति पुगेको दाबीसहित उनले क्षतिपूर्तिको माग गरेका छन्।
श्रेष्ठले वारेसमार्फत सोमबार दायर गरेको रिट निवेदनमा आफ्नो मोबाइल नम्बरको दुरुपयोग भएको र एमएसएम (MSM) जस्ता ओटीटी प्लेटफर्मबाट नम्बर हटाउन आग्रह गर्दा समेत बेवास्ता गरिएकाले कानुनी कारबाहीको माग गरिएको छ। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मुद्दा दर्ता भएको पुष्टि गरेका छन्।
रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र चलचित्र जाँच समितिलाई विपक्षी बनाइएको छ। उनीहरूलाई कानुनबमोजिम सजायको माग गरिएको छ। यसअघि चलचित्र नियामक निकायलाई पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि अदालतको ढोका ढकढकाउन बाध्य भएको निवेदनमा उल्लेख छ।