काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कले बुधबार शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारी पनि सहभागी थिए ।
भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलबारे जानकारी गराए। उनले यस प्रकारको पहलले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहो¥याए ।
सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समुह)सँग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरु गर्न यस नयाँ उद्योगबाट बल पुग्ने कम्पनीले जनाएको छ । यसका साथैे स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जानेछ ।
सामसङले दुई दशकदेखि नेपालमा आफ्नो उत्पादनको व्यापार गरिरहेको छ। नेपालमा यो ब्रान्ड अहिले घरेलु नाम बनिसकेको छ । यसले हाल नेपाली बजारमा आफ्ना साझेदारमार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ । कम्पनीसँग २ हजारभन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रको बलियो नेटवर्क विस्तार भइसकेको छ ।