काठमाडौं- भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।
आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो। पौने ९ बजे उनी मृत भेटिएको डिएसपी पाण्डेले बताए। मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन्।
यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।