×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

विकिलीक्स संस्थापक असान्जलाई जेलमै बिहे गर्ने अनुमति

विकिलीक्स संस्थापक असान्जलाई जेलमै बिहे गर्ने अनुमति

काठमाडौँ- जुलिअन असान्जले आफ्नी प्रेमिका स्टेला मोरिससँग बेलायतको बेल्मार्श कारागारमा विवाह गर्ने अनुमति पाएका छन् । विकिलीक्सका संस्थापक असान्ज र मोरिसका दुई सन्तान छन् । असान्ज एक्वडोरको लन्डनस्थित राजदूतावासमा बसेको बेला आफूले गर्भधारण गरेको मोरिसको भनाइ छ । त्यहाँ उनीहरूको नियमित भेटघाट हुने गरेको बताइएको छ । कारागार हेर्ने निकायका अनुसार कारागारका प्रशासकले असान्जको निवेदनलाई नियमित तरिकाले हेरेका थिए । विवाहसम्बन्धी सन् १९८३ को एउटा कानूनका अनुसार कैदीबन्दीहरूले विवाह गर्न निवेदन दिन पाउँछन् । अनुमति पाउनेहरूले करदाताको कुनै सहायताबिना आफ्नो विवाहको सम्पूर्ण खर्च बेहोर्नुपर्छ ।

असान्ज किन जेलमा छन् ?
अहिले ५० वर्षीय असान्ज जासुसीको अभियोगमा अमेरिका सुपुर्दगी गर्ने योजनाविरुद्ध कानुनी सङ्घर्ष गरिरहेका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षासम्बन्धी विवरण चुहाएको भन्दै उनलाई अमेरिकामा मुद्दा चलाउन खोजिएको छ ।

विकिलीक्सले अफगानिस्तान र इराकमा भएका युद्धबारे चुहाइएका लाखौँ दस्ताबेज प्रकाशित गरेको थियो । त्यसमा अमेरिकी सैनिकहरूले इराकमा हेलिकप्टरबाट सर्वसाधारणहरूको हत्या गरेको देखिने भिडिओ पनि पर्छ । अस्ट्रेलियाका नागरिक असान्ज सन् २०१९ यता बेल्मार्श कारागारमा छन् ।

एक्वडोरको दूतावासबाट निष्काशित भएपछि उनलाई जमानतका सर्तहरू उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो । सन् २०१२ देखि उनी उक्त दूतावासमा बसेर यौन दुर्व्यवहारको आरोपमा अभियोजन सामना गर्न जोगिएका थिए । उनले आफूमाथि लागेको अभियोगहरू सधैँ अस्वीकार गरे र अन्तत: ती खारेज भए ।

प्रतिकृया दिनुहोस्