काठमाडौं- नेपालमा अण्डा उत्पादनमा भारी गिरावट आएपछि यसको मूल्य हालसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। उत्पादन घटेर माग धान्न नसक्दा मूल्य आकाशिएको हो। मूल्य वृद्धिसँगै लामो समयदेखि घाटा बेहोरिरहेका किसानले भने राहत महसुस गर्दै आफ्नो लागत मूल्य पाएका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले चितवनलाई आधार मानेर अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ। सङ्घका अनुसार, आजदेखि लागू हुने गरी ठूलो अण्डाको फार्मदर प्रतिक्रेट (३० वटा) ५२५ रुपैयाँ र मध्यम अण्डाको ४९५ रुपैयाँ कायम गरिएको छ। यसैगरी, प्रतिपेटी (सात क्रेट) ठूलो अण्डाको मूल्य ३,८५५ र मध्यमको ३,६४५ रुपैयाँ तोकिएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलले यो मूल्य हालसम्मकै उच्च भएको बताउनुभयो। यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१० रुपैयाँसम्म पुगेको थियो। पोखरेलका अनुसार, एउटा अण्डा उत्पादन गर्दा किसानको लागत १६ रुपैयाँ ५६ पैसा पर्छ र अहिलेको मूल्यले बल्ल सो लागत उठाउन मद्दत गरेको छ।
किन बढ्यो मूल्य?
अध्यक्ष पोखरेलका अनुसार मूल्य बढ्नुको मुख्य कारण उत्पादन घट्नु हो। उनले भने, "अण्डा दिने कुखुराको संख्या घटेको छ, पुराना किसानहरू विस्थापित भए र नयाँ चल्ला हाल्न सकिएको छैन, जसले गर्दा मागअनुसार आपूर्ति हुन सकेको छैन।"
हाल नेपालमा दैनिक करिब २८ देखि ३० लाख गोटा अण्डा उत्पादन भइरहेको अनुमान छ, जुन विगतको उत्पादनको तुलनामा लगभग आधा हो। उत्पादनको अवस्था हेर्दा अण्डाको मूल्य भविष्यमा अझै बढ्न सक्ने देखिन्छ। मूल्य बढेपछि किसानहरू भने उत्साहित भएका छन्।